
काठमाडौं, असोज ९ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिने नयाँ २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगको बुधबारको बैठकले प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यका लागि हुने उक्त निर्वाचनमा भाग लिने राजनीतिक दलको दल दर्ता गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य, समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) लाई हलो निर्वाचन चिह्न प्रदान गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ग्रिन पार्टी नेपालले त्रिशूल, नेपाल लोकतान्त्रिक पार्टीले दुई हात जोडेको नमस्कार, राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)ले साँढेगोरु, साझा पार्टीले तराजु, मुस्कान सेना नेपालले पुरुष, नेपाल परिवार दलले साँचो, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले हँसिया र हाम्रो पार्टीले धारा चुनाव चिह्न पाएका छन् ।
त्यस्तै, मंगोल नेशनल अर्गनाइजेशनले कुखुराको भाले, नेपालवादले तारापुञ्ज, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपालले हवाईजहाज, नेपाली कांग्रेस (बिपी)ले करुवा, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले ट्याक्टर, आमूल परिवर्तन मसिहा पार्टी नेपालले हृदय, राष्ट्रिय नागरिक पार्टीले चंगा निर्वाचन चिह्न प्राप्त गरेका छन् ।
त्यसैगरी, जनमत पार्टी (जपा) लाई लाउडस्पिकर, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) हँसियामाथि धानको बाला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लाई गोलाकारभित्रको हँसिया हथौडा प्रदान गरिएको छ ।
आयोगमा दर्ता कायम भएका, २०७४ को निर्वाचनमा दर्ता नभएका, एकीकरण भएका, नाम परिवर्तन गरेका र २०७४ को निर्वाचनपछि यस आयोगमा दर्ता भएका २१ राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरिएको हो ।
भरतपुर–१६ अध्यक्षको मंसिर १४ मै
आयोगले चितवनको भरतपुर महानगरपालिका–१६ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन प्रयोजनका लागि असोज ७ गतेसम्ममा मतदाता नामावलीमा नाम दर्ता भएका र १८ उमेर पूरा भएका मतदातामात्र कायम रहने व्यवस्था गरेको छ ।
असोज ७ गते सरकारले उक्त वडामा पनि मंसिर १४ गते नै उपनिर्वाचन गर्ने घोषणा गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्