भैरहवा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीका लागि उत्साहजनक वातावरण तयार भएको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बनिसकेको जिकिर गरे ।
अध्यक्ष दाहालले नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताले चासो देखाइरहेको भन्दै उनीहरुलाई सहज हुने गरी वातावरण तयार गर्न सरकार लागिरहेको बताए ।
नेकपा अध्यक्ष दाहालले तिलोत्तमा नगरपालिकाले मुलुकलाई नै लगानीका लागि उपयुक्त छ भन्ने सन्देश दिएको भन्दै रुपन्देही व्यापार, व्यवसायका निम्ति महत्वपूर्ण द्वार रहेको उल्लेख गरे ।
स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले एक दिने तिलोत्तमा लगानी सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा कृषि, पर्यटन, उद्योग, यातायात क्षेत्रमा लगानी भित्राउने गरी आधा दर्जन बढी परियोजनामा सम्झौतामासमेत गरिंदैछ ।
शिक्षा, स्वास्थ्य, पर्यटन, सडक–पूर्वाधार, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धनजस्ता आम नागरिकका अपेक्षालाई नगरपालिकाले सम्मेलन मार्फत लगानी भित्राउन लागेको नगरपालिकाले जनाएको छ ।
सम्मेलनमा स्वदेशी तथा विदेशी उद्योगी व्यवसायी गरी पाँच सय जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस्