-अक्कल कुँवर र नविन स्थापित(ईमेज)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र चीनमा करिब सात दशकदेखि निरन्तर शासन गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टीबीच काठमाडौमा दुई दिने विचारधारात्मक छलफल कार्यक्रम चल्यो । छलफललाई चिनियाँ राष्ट्रपति सी चिनपिङले प्रतिपादन गरेको विचारधाराको प्रशिक्षणको रुपमा समेत व्याख्या गरिएको छ ।
तर नेकपा नेताहरुले भने दुई देशका कम्युनिष्ट पाटीबीचको सैद्धान्तिक विचार गोष्ठी र चिनियाँ राष्ट्रपति सी युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको परिचयात्मक कार्यक्रम भएको जिकिर गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच काठमाडौमा भएको ‘विचारधारात्मक छलफल’ को उद्घाटन समारोहमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले ‘सि चिनपिङ विचारधारा’ को मुक्तकण्ठले प्रशंसा गरे ।
सोही समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोन थाओले दुवै देशका कम्युनिष्ट पार्टी मिली जनताको विश्वास जितेर मुलुकलाई विकासको नयाँ उचाईमा पुर्याउनुपर्ने धारणा राखे ।
उनले नेपाल दक्षिण एसियामा विशेषतायुक्त भूराजनीतिक क्षेत्रमा भएको भन्दै यसैकारण चीनले बीआरआई प्रोजेक्ट लिएर आएको बताए । दुई देशका कम्युनिष्ट पार्टीबीच विचार आदानप्रदान गर्न आयोजना गरिएको छलफल भनिएपनि चिनियाँ राष्ट्रपति सीको विचारधारा र चीनले लागु गरेको नीति तथा प्राप्त उपलब्धीबारे प्रशिक्षण समेत दिइएको छ ।
विचार आदानप्रदानको कार्यक्रममा चिनियाँ नेताले सी विचारधाराको प्रशिक्षण दिनुले नेकपालाई एकदलीय साम्यवादतर्फ उन्मुख भइरहेको भनेर लागिरहेको आरोपमा थप मलजल पुग्ने देखिन्छ ।
सी विचारधाराको अनुशरणले नेपाली वामपन्थी आन्दोलनको मौलिकता मर्ने र भू–राजनीतिमा असर पर्ने टिप्पणी समेत हुन थालेको छ ।
तर नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले सी को अवधारणाबारे छलफल हुँदैमा लागु गर्नुपर्छ भन्ने नरहेको जिकिर गरे ।
नेकपाका शीर्ष नेताहरुले नै सी विचारधारालाई विश्व नै प्रभावित पार्ने अहिलेको नयाँ विचारका रुपमा व्याख्या गरेका छन् र सी को यही अवधारणाको सेरोफेरोमा नेपालले पनि चीनसंग विकास साझेदारी अघि बढाउन चाहेको बताएका छन् ।
जनताको बहुदलीय जनवाद कि २१ औं शताब्दीको जनवाद भन्नेमा अल्झिएको नेकपाले सी को विचार अपनाउन खोजेको कतिपयको जिकिर छ । तर नेकपा स्थायी कमिटी सदस्य भुसालले सी विचारधारा चिनियाँ विशेषतासहितको समाजवाद भएकाले नेपालको सन्दर्भमा लागु हुन नसक्ने टिप्पणी गरे ।
त्यसो त नेपालको राजनीतिक प्रणाली र संविधान अनुसार पनि नेकपाले चाहँदैमा नेपालमा सीको विचारधारा लागु गर्न सजिलो छैन् । तर, दुई मुलुकका सत्तारुढ कम्युनिष्ट पार्टीले एकअर्काका विचार,सिद्धान्तर प्रयोगलाई बुझ्ने तथा समाजवादको दिशातिर जाने रणनीतिक योजना बनाएकाले विभिन्न बहस भने सुरु भएको छ ।
स्पष्ट रुपमै चीनले आफ्नो विचार प्रवद्र्धन गर्ने जनाइसकेको सन्दर्भमा सी विचारधाराको प्रशिक्षणले नेपाललाई सावधानीपूर्वक परराष्ट्र कुटनीति सञ्चालन गर्ने चुनौती थपिएको विदेश मामिलाका जानकारहरुले टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्