काठमाडौं, असोज ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
६ बुँदे सम्झौतामा दुई पार्टीबीच उच्चस्तरीय भ्रमण आदान–प्रदान गर्ने, कम्युनिस्ट विचारधारा र अनुभवको आदान–प्रदान गर्ने र हाल सन्चालन भइरहेको विचाराधारात्मक प्रशिक्षणलाई निरन्तर र तल्लो तहसम्म लैजाने, दुई देशका विकासका ‘मोडल’का अनुभवको आदान–प्रदान गर्नेलगायतका बुँदा समावेश छन् ।
नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीबीच अलग–अलग मैत्री सम्बन्ध रही आएकामा नेकपा गठन भएपछि दुई देशका दुई पार्टीबीचको सम्बन्धको नवीकरणकारुपमा समझदारीलाई लिनुपर्ने बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणअघि यो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
नेपाल र चीनका सत्तारुढ कम्युनिस्ट पार्टीहरुले पहिलोपटक काठमाडौंमा संयुक्तरूपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरेका छन् । सोमबार सुरु भएको प्रशिक्षण मंगलबार पनि जारी छ ।
प्रतिक्रिया दिनुहोस्