वासिंटन, असोज ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुटनीतिमा भारत र पाकिस्तान नराम्ररी रुमल्लिन पुगेका छन् । परमाणु शक्ति सम्पन्न भारत र पाकिस्तानबीच लामो समयदेखि कश्मीर मामलामा विवाद हुँदै आएको छ । अमेरिकाले दुवै मुलुकलाई उत्तिकै महत्व दिँदै आए पनि अमेरिकी राष्ट्रपति ट्रम्पका व्यवहार र भनाइ कहिले भारतको पक्षमा त कहिले पाकिस्तानको पक्षमा देखिने गरेको छ ।
हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भव्य स्वागत र सम्मान गरेका ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई पनि उत्तिकै महत्व दिए । यतिमात्र होइन, इमरानसँग संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले मोदीको भाषण ‘आक्रामक’ रहेको भन्दै आफूले त्यस्तो अपेक्षा नगरेको बताए ।
‘भारत र प्रधानमन्त्री मोदीका तर्फबाट हिजो निकै आक्रामक बयान आएको छ, म त्यहीँ उपस्थित थिएँ,’ ट्रम्पले भने, ‘मलाई यस्तो सुन्नु पर्छ भन्ने थाहा थिएन । त्यहाँ उपस्थित मानिसहरुलाई मोदीका कुरा राम्रो लाग्यो तर त्यो निकै आक्रामक थियो ।’
मोदीले आइतबार ह्युस्टनमा आयोजित ‘हाउडी मोदी’ कार्यक्रममा पाकिस्तानको नाम नलिइ भनेका थिए, ‘भारतको फैसलाबाट उनीहरुलाई अप्ठ्यारो परेको छ जसले आफ्नो देश सम्हाल्न सकेका छैनन् । उनीहरु उग्रवादलाई पालन पोषण गरिरहेका छन् ।’
इमरानसँगको भेटमा ट्रम्पले फेरि कश्मीर मामलामा मध्यस्थताका लागि आफू तयार रहेको बताए । उनले पटक पटक यस्तो भनाइ राख्दै आएका छन् । दुवै मुलुकले चाहेको अवस्थामा आफू मध्यस्थताका लागि तयार रहेको ट्रम्पको भनाइ थियो । मोदीसँगको भेटमा भने ट्रम्पले मध्यस्थताको कुरा गरेका थिएनन् ।
भारतले कश्मीर मामलामा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गर्दै आएको छ ।
ट्रम्पले भने, ‘मलाई मध्यस्थताका लागि भनियो भने म तयार हुनेछु, यसका लागि म सक्षम पनि छु, यो कठिन काम हो । लामो समयदेखि विवाद रहँदै आएको छ । दुवै मुलुकले चाहेमा म मध्यस्थताका लागि तयार छु । तर भारत पनि तयार हुनुपर्छ ।’
उनले पाकिस्तान र इमरान खानको प्रशंसा पनि गरे । उग्रवाद नियन्त्रणका लागि पाकिस्तानले निकै प्रगति गरेको उनको भनाइ थियो ।
जवाफमा पाकिस्तानी प्रधानमन्त्रीले पनि अमेरिकी राष्ट्रपतिको प्रशंसा गरे । ट्रम्पले विश्वकै शक्तिशाली मुलुकको नेतृत्व गर्दै आएको जिकिर गर्दै इमरानले भने, ‘विश्वको शक्तिशाली मुलुकको दायित्व हुन्छ । तपाईले मध्यस्थताको प्रस्ताव गर्नुभयो र यसका लागि दुवै देश तयार हुनुपर्ने भन्नुभयो, तर दुर्भाग्य ! भारत वार्ताका लागि अस्वीकार गर्दै आएको छ ।’
उनले कश्मीर विवाद निकै ठूलो संकट बन्ने चेतावनी दिए । उनले अमेरिकालाई यस विषयमाथि सुरक्षा परिषदको बैठकमा दृढ रुपमा प्रस्तुत हुन आग्रहसमेत गरे ।
यसअघि मोदीसँगको भेटमा ट्रम्पले मोदी आफ्नो एक असल मित्र रहेको बताएका थिए ।
कश्मीर मामलामा भारत र पाकिस्तानको फरक फरक अडान र मान्यता छन् । यी दुवैखाले मान्यतामा अमेरिकी दृष्टिकोण भने प्रष्ट आइसकेको छैन । कश्मीर मामलामा भारतको कदम सही हो वा पाकिस्तान सही छ भन्नेबारे अमेरिका मौन छ । दुवै मुलुकसँगको सम्बन्धलाई लिएर अमेरिका सचेत देखिएको छ ।
यद्यपि पाकिस्तान र भारत दुवैले कश्मीर मामलामा अमेरिकाको साथ आफूलाई रहेको दावी गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्