१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


नेपाल–चीनबीच समस्यारहित सम्बन्ध : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असोज ६ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीको संयुक्त वैचारिक आदान–प्रदान गोष्ठी सोमबारदेखि काठमाडौंमा सुरू भएको छ ।

सोमबार अपराह्न राजधानीमा गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताए ।

‘सी चिनफिङ विचारधाराबारे कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ नाम दिइएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सी चिनफिङ विचारधाराबारे छलफल चलाएर नयाँ बहसको थालनी गरेको भन्दै खुसी व्यक्त गरे ।

नेपाल एक चीन नीतिमा अडिग रहेको भन्दै उनले दुई देशको मित्रता स्वार्थभन्दा माथि रहेको पनि बताए ।

विश्वका केही देशहरुले शक्ति आर्जन गरेपछि साना देशहरुलाई थिचोमिचो गर्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले ‘चीन शक्तिशाली बनेर पनि शान्ति र समानताको पक्षमा रहेको छ’–भने ।

कम्युनिस्ट पार्टीले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीले झुटो सावित गर्दै चिनियाँ कम्युनिस्ट पार्टी माक्सवादको रक्षामा पनि अब्बल देखिएको ओलीको धारणा थियो ।

कार्यक्रममा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) नेपालका लागि पूर्वाधार विकासको अपरिहार्य भएको बताए ।

उनले बीआरआईले कृषिको आधुनिकीकरण, औद्योगीकरण तथा सामाजिक विकासका लागि चाहिने पुँजी र प्रविधिमा पहुँच पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।

नेकपा नेताहरुलाई सी चिनफिङ विचारधाराबारे प्रशिक्षण दिन आएका चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले चीन र नेपाल दुवै देशमा कम्युनिस्ट पार्टीको शासन रहेकाले जनताको जीवनस्तर राम्रो बनाउनु नै प्रमुख लक्ष्य हुनुपर्नेमा जोड दिए ।

सी चिनफिङ विचारधाराले जनतालाई प्रमुख स्थानमा राखेको भन्दै उनले नेपाल कम्युनिस्ट पार्टीलाई शुद्धकीरण गर्नुपर्नेमासमेत जोड दिए ।