
काठमाडौं, असोज ६ । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुन अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघ–संस्थालाई आग्रह गरेका छन् ।
चालिसौं सामाजिक सेवा दिवसका अवसरमा सामाजिक सेवा मूल समारोह समिति र समाजकल्याण परिषद्द्वारा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएजस्तै गरी सामाजिक संघ–संस्था र अभियानकर्मीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुनेमा विश्वास व्यक्त गरे ।
उनले प्रत्येक नेपालीको आर्थिक, सामाजिक रुपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणको महाअभियानमा हातेमालो गर्नु सामाजिक संघ–संस्थाको कर्तव्य रहेको बताए ।
उनले भने–‘लोकतन्त्रमामात्रै सामाजिक संघ–संस्था फस्टाउनसक्ने र सामाजिक काम पनि गर्न सम्भव हुन्छ । वर्तमान राजनीतिक परिवर्तन र उपलब्धिका लागि सामाजिक संघ–संस्थाले खेलिरहेको भूमिका सराहनीय छ । आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणका लागि निर्वाह गरेको भूमिकाका लागि सामाजिक संघ–संस्थालाई धन्यवाद दिँदै प्राप्त उपलब्धिप्रति गौरव गर्न आग्रह गर्दछु ।’
उपराष्ट्रपति पुनले केहीले राम्रो काम गरिरहेको उदाहरण भएपनि ती सामाजिक संस्थाको रकम लक्षित समुदायसम्म पुग्न नसकेको गुनासो आइरहेकाले लक्षित समुदायलाई परनिर्भरताभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले भने–‘अहिले गाउँमा कुनै सानो सामाजिक कामका लागि बैठक बसौंभन्दा भत्ता कति आउँछ भन्ने प्रवृत्ति निकै बढेको पाइन्छ । जस्तोः कर्णालीका स्थानीय जनताका लागि स्थानीय उत्पादनमा जोड दिने र त्यसबाट आर्थिक उत्पादनको सोचको विकास गर्नुभन्दा निरन्तर चामल पठाइराख्ने र परनिरर्भर बनाइराख्नेमामात्रै हामी केन्द्रित भएका त छैनौं ?’
उनले गैरसरकारी संघ–संस्थाले काठमाडौंका ठूला होटलहरुमा कार्यक्रम गरेर पैसा सक्नुको सट्टा कर्णालीका जनतालाई स्याउ, जडीबुटी, पशुपालनमा लाग्न प्रेरित गर्ने कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गैरसरकारी संस्थाको प्रभावकारी परिचालनमार्फत् देशको आर्थिक, भौगोलिक क्षेत्रका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता क्षेत्रलगायत समग्र कल्याणका क्षेत्रमा परिषद्ले योगदान पुर्याउँदै आएको बताइन् ।
उनले अब बन्ने परिषद्को ऐन नेपालको संविधानको उद्देश्य र अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर बनाइने प्रतिबद्धता व्यक्त गरिन् ।
परिषद् सामाजिक क्षेत्रमा काम गर्ने गैरसरकारी संघ–संस्थाको सहजीकरण, समन्वय र ती संस्थाले सन्चालन गर्ने कार्यक्रमको अनुगमन तथा मूल्यांकन गर्न स्थापना गरिएको स्वायत्त निकाय हो ।
हाल नेपालमा कार्यक्रम सन्चालन गर्नका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था परिषद्बाट स्वीकृति लिएर काम गर्दै आएका छन् ।
हाल २५० भन्दा बढी अन्तर्राष्ट्रिय र ५० हजारभन्दा बढी राष्ट्रिय गैरसरकारी संस्था परिषद्मा आबद्ध छन् ।
कार्यक्रममा समाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्