काठमाडौं, असोज ४ । आज विश्व अल्जाइमर चेतना दिवस । नेपाल पनि विभिन्न कार्यक्रम गरी २६औं अल्जाइमर चेतना दिवस मनाइएको छ ।
यो वर्ष अल्जाइमर चेतना दिवसको नारा ‘विस्मृति रोगबारे चर्चा गरौं, हेय भावनाको अन्त्य गरौं’ भन्ने रहेको छ ।
बिर्सने रोगकोरुपमा चिनिने अल्जाइमर रोग ६५ वर्ष उमेरमाथिका व्यक्तिहरुमा बढी देखिने चिकित्सकहरु बताउँछन् । नेपालमा पनि यो रोगका बिरामीको संख्या बढ्दै गएको छ ।
सन् २०१५ को तथ्यांकअनुसार नेपालमा ७८ हजार मानिसमा बिर्सने समस्या रहेकामा सन् २०३० सम्म यो संख्या दोब्बर हुने अनुमान गरिएको छ ।
विश्व स्वास्थ्य संगठनकाअनुसार २०१९ सम्ममा विश्वभर पाँच करोड मानिस अल्जाइमर रोगबाट पीडित छन् ।
सन् २०५० सम्ममा विश्वभरका ज्येष्ठ नागरिहरुमध्ये नेपालजस्ता विकासोन्मुख मुलुकहरुमा ६८ प्रतिशत ज्येष्ठ नागरिकलाई बिर्सने रोग लाग्ने अनुमान गरिएको छ ।
दिवसकै अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अल्जाइमरका बिरामीको संख्या बढ्दै गएकाले यसको निराकरणका लागि सरकारले योजनाहरु बनाइरहेको बताइन् ।
अल्जाइमर रोगबारे धेरैलाई थाहा नभएको भन्दै उनले यो रोगबारे सचेतना कार्यक्रमहरु सन्चालन गरिने बताइन् ।
अल्जाइमर रोग लाग्न नदिन जीवनशैली र खानपानमा विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
नियमित व्यायाम र मस्तिष्कलाई सक्रिय बनाउनुपर्छ । धूमपान तथा मदिरा सेवनबाट टाढै रहने र पौष्टिक तथा सन्तुलित खानेकुरामा जोड दिन पनि आवश्यक हुन्छ ।
दिमागलाई सक्रिय बनाउन सामाजिक अन्तरक्रियाले पनि ठूलो भूमिका खेल्ने चिकित्सकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्