
काठमाडौं, साउन ८ । प्रतिपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको मंगलबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्तापक्षका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।
लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु पनि आ–आफ्नो स्थानबाट उठे ।
सभाका अध्यक्ष तिमिल्सिनाले सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिए ।
तर, सत्तारुढ दलका प्रमुख सचेतक बोल्दैगर्दा प्रतिपक्षी दलका सांसदहरुले विरोध गरेपछि दुवै पक्षका सांसदहरुबीच भनाभन भएको थियो ।
हो–हल्लाबीचको बैठकमा नेकपाका प्रमुख सचेतक भट्टराईले कार्यसूचीअनुसार सदन चल्न दिनुपर्ने जिकिर गरे । तर, भट्टराईको अभिव्यक्तिको प्रतिपक्षी दलका सांसदले प्रतिकार गरेका थिए ।
बारम्बार बस्न आग्रह गर्दा पनि प्रतिपक्षी दलका सदस्य उभिइरहेपछि अध्यक्ष तिमिल्सिनाले बैठक साउन ९ गते बुधबार बिहानसम्मका लागि स्थगित गरेका छन् ।
बैठक स्थगित भएपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षी दलको अवरोधका कारण संसद चल्न नसकेको प्रतिक्रिया दिए ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा दलका नेता सुरेन्द्र पाण्डेले समसामयिक समस्या समाधानका लागि ध्यानाकर्षण गराउन खोज्दा सत्तापक्षले अवरोध गरेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्