
-टेकराज अवस्थी/ईमेज
डडेल्धुरा । डडेल्धुराबासीले काँगेसको जागरण अभियान जनतालाई नभई नेताहरुलाई आवश्यक रहेको सुझाव दिएका छन् ।
पार्टीभित्रका गुट उपगुटको कारणले काँग्रेस धराशायी बन्दै गएको भन्दै समस्या नेतृत्वमै रहेको उनीहरुको टिप्पणी छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला समेत रहेको डडेल्धुराका अधिकांश जनताले पार्टीको नेतृत्वप्रति व्यापक गुनासो गरेका छन् ।
गुटबन्दीमै रुमल्लिँदा पार्टी कमजोर भएको भन्दै जागरण अभियान जनतामा नभई नेताहरुकै लागि चलाउनुपर्ने सुझाव दिएका छन् ।
समाजवादका प्रणेता स्व. विश्वेश्वर प्रसाद कोइरालाको १०६ औँ जन्मजयन्ती अवसरमा सुरु भएको दोस्रो चरणको जागरण अभियानमा नेतृत्वमै समस्या रहेको प्रतिक्रिया आएको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामै आन्तरिक गुटले धराशायी बन्दै गएकाले सर्वसाधारणले देउवाप्रति चरम आक्रोश व्यक्त गरेका छन् ।
आन्तरिक पार्टी सुदृढीकरणका लागि जनतासमक्ष पुगेर सुझाव संकलन र सरकारका गलत गतिविधिको भण्डाफोर गर्ने उद्देश्यका साथ गरिएको जागरण अभियानमा गुटबन्दी अन्त्य गर्नुपर्ने सुझाव आएको छ ।
नेताहरु हार्दिक रुपले एकता नभएसम्म जनताको विश्वास जित्न नसकिने भन्दै केन्द्रदेखि जिल्लासम्मका नेता सच्चिनुपर्ने स्थानीयको धारणा छ ।
उपल्लो तहका नेताहरुको कार्यशैली तल्लो तहमा पनि अनुशरण हुने भएकाले पार्टीको शुद्धीकरण केन्द्रबाटै हुनुपर्ने धेरैको धारणा देखिन्छ ।
गुटबन्दीको खेलले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता समेत विभेदमा पर्ने भएकाले पार्टीप्रति जनताको भरोसा नरहने अधिकांशको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्