Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, दलै नहुनेहरु दलको नेता चुन्दैछन्– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, फागुन २१ । प्रधानमन्त्री केपी ओलीले आफूहरुले कसैलाई पनि प्रधानमन्त्री पद प्रस्ताव नगरेको र नगरिने प्रष्ट गर्नुभएको छ ।

नेकपा विप्लव समूहसँगको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्षसमेत रहनुभएका ओलीले भन्नुभयो, ‘हामीले अनुचित ढंगले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राख्ने वाला छैनौं । कसैलाई प्राधानमन्त्री पद प्रस्ताव राखेका पनि छैनौं ।’

नेकपाका अर्का अध्यक्ष दाहाल–नेपाल पक्षलाई इंग्गित गर्दै ओलीले पार्टीका केही नेता आफ्नो पार्टीको सरकार ढालेर अरुलाई प्रधानमन्त्री बनिदिनुस् भन्दै पद किस्तीमा राखेर हिँडेको टिप्पणी गर्नुभयो ।

ओलीले दल नै नभएकाहरुले संसदीय दलको बैठक राखेको भन्दै दलको नेता म यता छु के को बैठक भन्नुभयो । उहाँले भन्नुभयो, ‘संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेको छु । कुन दलको हो थाहा छैन । दलको नेता म यहाँ छु । यति साह्रो नग्नताको हद ? आफ्नो प्रधानमन्त्री हटाएर किस्तीमा प्रधानमन्त्री लिएर खाइदिनुस् न भनेर अन्त जाने ?’

मुलुबमा अब कुनै पनि हिंसात्मक द्वन्द्व नरहेको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘अब तेपालमा हिंसात्मक बाटो छैन । हिंसात्मक कार्यदिशा कसैले पनि लिएर हिँडेको छैन ।’

अमेरिका, चीन, भारतभन्दा नेपाल शान्तिको मापदण्डमा अघि बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउनु सेफ ल्याण्डिङ भएकाले शुभकामना दिन्छु भन्नुभयो ।

यही पद्धतीमा रहेर विप्लव पौडी खेल्न सक्षम हुने उहाँको भनाइ थियो । शान्तिको बाटोमा आउने विप्लवको कदम साहसिक रहेको भन्दै उहाँले यो कुनै फोर्सल्याण्डिङ, क्रास ल्याण्डिङ नभई सेफल्याण्डिङ भएको उल्लेख गर्नुभयो ।