१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ललितपुरका ढुंगेधाराबाट २४ सै घन्टा पानी निकाल्ने तयारी


0
Shares

दीपक श्रेष्ठ, राजेन्द्र नापित र विनोद बजगाइँ (इमेज)

काठमाडौं, भदौ ३१ । बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासका कारण काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह घट्दै गएको छ ।

अझ २०७२ सालको विनाशहकारी भूकम्पपछि उपत्यकाका अधिकांश ढुंगेधाराको पानी सुकेको छ ।

तर, ललितपुर महानगरपालिकाले भने ढुंगेधारालाई पुरानै शैलीमा फर्काउने तयारी थालेको छ ।

काठमाडौं उपत्यकामामात्र ४०० को हाराहारीमा रहेका ढुंगेधारा विभिन्न कारणबाट लोप हुनेक्रममा छन् ।

बढ्दो सहरीकरणसँगै अतिक्रमण बढेकाले हाल ३०० ओटा ढुंगेधारामात्र बाँकी रहेका छन् । त्यसमध्ये १० प्रतिशत भन्दा कममामात्र पानी आउने गरेको छ ।

काठमाडौंमा १३६, भक्तपुरमा ८०, ललितपुरमा ४७ र कीर्तिपुर र मध्यपुरथिमिमा ५५ ओटा ढुंगेधारा बाँकी रहेको तथ्यांक रहेको छ ।

उपत्यकामा रहेका अधिकांश ढुंगेधारा मासेर ठूला–ठूला भवन निर्माण भइसकेका छन् भने कतिपय ढुंगेधारा जीर्णोद्वारको पर्खाइमा छन् ।

राजकुलोको संरक्षण नहुनु र भवन निर्माण तथा व्यापारिक प्रयोजनका लागि ‘डिप बोरिङ’ गरेर पानी निकाल्ने चलन बढेकाले जमिनमुनिको पानीको मात्रा घटेकाले ढुंगेधारामा पानी सुकेको पानीविज्ञ प्रयागलाल जोशीको भनाइ छ ।

पहिलो चरणमा ललितपुरमा रहेका १२ ओटा ढुंगेधाराबाट २४ सै घन्टा पानी निकाल्ने तयारी भइरहेको जोशी बताउँछन् ।

ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ढुंगेधारा संरक्षण गर्न चासो देखाएको छ ।

पानी सुकेको ढुंगेधारामा पुनः पहिलाकै अवस्थामा ल्याउनका लागि विज्ञहरुसँग छलफल भइरहेको महानगरपालिकाका मेयर चिरिबाबु महर्जन बताउँछन् ।

सम्बन्धित निकाय र उपत्यकाका सरोकारवालाहरुले ढुंगेधारालाई ब्युँताउनेतर्फ चासो नदेखाएका कारण पनि काठमाडौंका ढुंगेधारा लोप हुँदै गएका हुन् ।

भिडियो हेर्नुहोस्