२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


समाजवादी पार्टीले संविधान दिवसमा दीपावली नगर्ने, ‘कालो दिन’ पनि नमनाउने


0
Shares

काठमाडौं, भदौ ३० । समाजवादी पार्टी नेपालले संविधान दिवसका दिन दीपावली नगर्ने र ‘कालो दिन’ पनि नमनाउने निर्णय गरेको छ ।

सत्तारूढ दल समाजवादी पार्टीले संविधान दिवस असोज ३ गतेका दिन संविधान संशोधनको अपरिहार्यता र आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न मातहतका पार्टी कमिटीलाई निर्देशन पनि दिएको छ ।

वि.सं. ‘२०७२ सालको विद्यमान संविधान त्रुटिपूर्ण एवं अपूर्ण रहेकाले संविधान जारी भएको दिनको खुसियालीमा दीपावली नगर्ने र विरोधकोरूपमा कालो दिवस दुवै नमाउने र त्यस्ता कार्यक्रमहरुमा सहभागी पनि नहुने’ समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्णय गरेको बैठकपछि पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले भने संविधान दिवस भव्यताका साथ मनाउन र असोज ३ गते दीपावली गर्न आह्वान गरेको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीकारुपमा सरकारमा सहभागी छन् ।