राष्ट्रियसभा बैठक पनि कांग्रेसद्वारा अवरुद्ध • Image Khabar Image Khabar


राष्ट्रियसभा बैठक पनि कांग्रेसद्वारा अवरुद्ध


Imagekhabar
२९ भाद्र २०७६, आईतवार १७:४७

राष्ट्रियसभा बैठक पनि कांग्रेसद्वारा अवरुद्ध

काठमाडौं, भदौ २९ । राष्ट्रियसभाको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको छ । बाँके घटनामा संलग्नलाई कारवाहीको माग गर्दै कांग्रेस सांसदहरुले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका हुन् ।

बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कांग्रेस सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले बाँकेको खजुरामा ‘अरिंगालको आक्रमण’ देखिएको भन्दै ज्यान लिने नियतले भएको सांघातिक हमलामा संलग्नलाई कारवाही नगरेसम्म बैठक सञ्चालन हुन नसक्ने चेतावनी दिए ।

प्रतिपक्षका सांसदहरुले सरकारको धारणा माग गरेपछि गृहमन्त्रीले उक्त घटनाका विषयमा स्पष्टिकरण दिएका थिए । तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जारी राखे ।

कांग्रेसका सांसदको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए । तर, बैठक स्थगितपछि सदन सुचारु गर्न भएको छलफलमा पनि कांग्रेसले आफ्नो अडान नछाडेपछि बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।

यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठक पनि कांग्रेस सांसदहरुले अवरुद्ध गरेका थिए ।

बिहीबार बाँके जिल्लाको खजुरा गाउँपालिका–२ सीतापुरमा भएको कांग्रेसको जागरण कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गरी जिल्ला सभापति किरण कोइरालासहित केही कार्यकर्ता घाइते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्