२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


सुनसरी र मोरङका उद्योगहरुमा ‘कालो बादल’: धमाधम बन्द हुन थाले कलकारखाना (भिडियो)


0
Shares

-ध्रुव भट्टराई/ईमेज

विराटगर । केही दशकअघिसम्म प्रशस्त उद्योगधन्दा रहेका सुनसरी तथा मोरङमा पछिल्लो समय उद्योग बन्द हुनेक्रम जारी छ ।

सरकारले मुलुकमा राजनीतिक स्थायित्व भएकाले लगानी गर्ने वातावरण अनुकुल रहेको बताएपनि औद्योगिक वातावरण नभएको भन्दै व्यवसायीहरुले एक पछि अर्को गर्दै कलकारखाना बन्द गर्न थालेका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि औद्योगिक क्षेत्रको विकासमा कालो बादल नै सुरु भएको थियोे ।

त्यसबेला सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा ठूला निर्यातमुखी उद्योगको संख्या १ सय ५० वटा थियो ।

तर ३० वर्षपछि अहिले ठूला उद्योगको संख्या ४३ मा खुम्चिएको छ । तीमध्ये पनि अधिकांश उद्योग समस्याग्रस्त रुपमा सञ्चालन भइरहेका छन् ।

लामो समयको संक्रमणकाल अन्त्य भएर मुलुकमा नयाँ व्यवस्थासहितको स्थिर सरकार पनि गठन भइसकेको छ ।

तर उद्योगी व्यवसायी भने औद्योगिक क्षेत्रको विकासका लागि अनुकूल वातावरण नभएको गुनासो गरिरहेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे नयाँ लगानी थपिने भन्दा पनि भएका उद्योग पनि बन्द हुने क्रममा भएको बताउँछन् ।

उद्योग विभागकोे तथ्याङक अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरलगायत आसपासका क्षेत्रमा अहिले साना ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् ।

जसमध्ये १९ प्रतिशत उद्योगले मात्र उत्पादित वस्तु भारतसहित तेस्रो मुलुकमा निर्यात गर्ने गरेका छन् ।

राजनीतिक अस्थिरता बन्द–हड्ताल, श्रमिक आन्दोलन, विद्युत् अभाव, यातायात अवरोधलगायतका कारण उद्योग बन्द भएको उद्योगी सौरभ सारडाको भनाइ छ । 

औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाका लागि बाह्य लगानीकर्ता नआएकाले पनि समस्या भइरहेको हो ।

सरकारको आर्थिक नीति उद्योगलाई दोहन गर्ने किसिमको देखिएकाले उद्योग क्षेत्रको विकास, विस्तार हुन नसकेको अर्का उद्योगी पवन सारडाको बुझाइ छ ।

उद्योग विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरमा ५ सय करोड रुपैयाँ उद्योगमा लगानी छ ।

यस औद्योगिक करिडोरमा जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, जुत्ता, चप्पल, धागो, साबुन, लगायतका वस्तु उत्पादन हुँदै आएका छन् । 

जहाँबाट झण्डै ५० हजार भन्दा बढी जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।