मीरा बस्नेत (इमेज)
काठमाडौं, भदौ २७ । यतिबेला काठमाडौं उपत्यका इन्द्रजात्राको रौनकमा रंगिएको छ ।
उपत्यकाको प्रमुख जात्रामध्येको एक इन्द्रजात्राले मुलुकको सांस्कृतिक पहिचानलाई जोगाएको छ ।
इन्द्रजात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने विविध जात्रामध्ये महत्वपूर्ण र रमाइलो जात्रा हो ।
भाद्र शुक्ल द्धाद्धशीका दिन इन्द्रध्वजारोहणबाट सुरु भइ चौथी अर्थात् इन्द्रध्वजपतनसम्म ८ दिन विभिन्न नाचगान, रथयात्रा गरी यो जात्रा मनाइन्छ ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी मनाइने यो जात्राको पहिलो दिन तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको नालास्थित चित्तपोलको जंगलबाट ल्याइएको सल्लाको लिंगोको पूजा गरी इन्द्रध्वजारोहण गरिन्छ ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि धार्मिक विधिअनुसार इन्द्रध्वजारोहण गर्ने चलन छ ।
इन्द्रध्वजारोहणमा मंगल सूचकका विभिन्न चिह्नअंकित पताका झुन्ड्याएको हुन्छ ।
लिंगो ठड्याएपछि फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गर्ने गरिन्छ ।
यही दिनदेखि श्वेतभैरवको मूर्ति सर्वसाधारणका लागि पनि दर्शनका लागि खुला गरिन्छ ।
द्वादशीकै दिन ‘उपाकु’ पर्वअन्तर्गत् पितृमोक्षको कामना गर्दै दिवंगत व्यक्तिका परिवारजन बाटोमा दियो दान गर्दै तत्कालीन कान्तिपुर नगरको सीमा क्षेत्र परिक्रमा गर्ने गर्दछन् ।
काठमाडौंको मरुटोलमा अग्लो डबली बनाइ इन्द्रको मूर्तिलाई इन्द्रजात्राभर डोरीले बाँधेर राख्ने चलन छ ।
आमाको ब्रतका लागि पारिजातको फूल लिन पृथ्वीमा आएका देवराज इन्द्रले मालिलाई नसोधी फूल टिपेको र तिनलाई चोर भनी नियन्त्रणमा लिइ सबैलाई देखाइएको संकेतकारुपमा यसरी मूर्ति राख्ने गरिएको किम्बदन्ती रहेको छ ।
यस अवधिभर इन्द्रचोकमा आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खटमा राखि विभिन्न प्रकारका फूलले सिँगारेर प्रदर्शन गरिन्छ ।
साथै, धिमेबाजाको तालमा प्रसादकारूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा पनि रहेको छ ।
यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवित देवीकारुपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ ।
जात्राभरि राजधानीका विभिन्न स्थानमा भक्कुनाच, भक्तपुरको महाकाली नाच, लाखेनाच, इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीककारूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
पूर्णिमाको दिन भने वसन्तपुर दरबारस्थित गद्दी बैठकअगाडि जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी विशेष पूजा गर्ने गरिन्छ ।
यसदिन राष्ट्रप्रमुखलेसमेत रथयात्रा अवलोकन गर्ने र कुमारी, भैरव र गणेशको पूजा गर्ने चलन रहेको छ ।
सोही दिनदेखि नेवार समुदायले कुमारी, भैरव र गणेशको रथ तानेर नगर परिक्रमा गराउनेक्रम सुरु हुन्छ ।
पूर्णिमाको दिन सुरु हुने रथ तान्ने जात्रा दोस्रो र तेस्रो दिन पनि जारी रहन्छ । त्यसक्रममा रथजात्रा हुने स्थानहरुमा विभिन्न देवी–देवताको नृत्य प्रस्तुत गर्ने गरिन्छ ।
इन्द्रजात्राको अन्तिम दिनमा इन्द्रध्वजा ढालेर वाग्मती नदीमा विसर्जन गरेपछि जात्रा औपचारिकरुपमा समापन हुने गर्दछ ।
इन्द्रजात्रा काठमाडौंको विशेष पर्व भएपनि ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका नेवार बस्तीहरुमा पनि यो पर्व मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्