२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘प्रिन्ट’ गरिएको कागजमा राखेर खाँदै हुनुहुन्छ ? सावधान ! क्यान्सर हुनसक्छ (भिडियो)


0
Shares

दीपक श्रेष्ठ, लक्ष्मण डंगोल र योगेश लामा (इमेज)

काठमाडौं, भदौ २७ । पत्रपत्रिकामा खानेकुरा राखेर खानु र त्यसमा खानेकुरा पोको पारेर लिनु–दिनु सामान्य कुरा मानिन्छ ।

तर, यसरी ‘प्रिन्ट’ गरिएको कागज र पत्रपत्रिकामा खाद्यसामग्री राख्दा र ती खानेकुरा खाँदा त्यसमा हुने रसायनले शरीरमा पार्ने असर भने सामान्य छैन ।

सडकका छेउछाउमा बसेर खानेकुरा खाँदा होस् वा मिठाइ पसलका परिकार लैजाँदा । त्यहाँ पत्रपत्रिका र प्रिन्ट कागजको उपयोग अत्यधिक हुन्छ, खानेकुरा राख्न र पोको पारेर लैजान ।

घरमै तयार पारिने विभिन्न भुटेका, तारेका खानेकुरा पनि धेरैजसो पहिला पत्रिकामा राख्ने गरिन्छ, तेल सोसियोस् भनेर ।

तर, यसरी राखिएका खानेकुरा खाँदा हामीले हानिकारक रसायन पनि खाइरहेका हुन्छौं । त्यस्ता खानेकुराले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्छ ।

पत्रपत्रिकामा छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा ‘डाइपिग्मेन्ट्स’, ‘अल्कोहल’, ‘प्रिजरभेटिभ’, ‘ग्रेफाइट’, ‘डाइएन आइसोब्युटाइलेट’जस्ता रसायन हुन्छन्  । यी सबै रसायन स्वास्थ्यका लागि निकै खतरनाक हुन्छन्  ।

मसीमा प्रयोग हुने रसायनले पेटसम्बन्धी समस्या, उच्च रक्तचापको सम्भावना रहन्छ भने मिर्गौलालाईसमेत क्षति पुर्‍याउँछ ।

यस्ता रसायनको थोरै अंशले पनि हाम्रो शरीरमा क्यान्सरको जोखिम बढाउने डा. लोचन कार्की बताउँछन् ।

पत्रपत्रिकामा प्रयोग हुने रसायनले गर्दा हाम्रो पाचनप्रणालीमासमेत असर पर्छ ।

यस्तै, मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । जसले फोक्सो र मूत्रासयको क्यान्सरको जोखिम पनि बढाउँछ ।

तर, अधिकांश मानिसलाई प्रिन्ट कागजमा पोको पारेर दिएको खानेकुरा खाँदा कस्तोखालको स्वास्थ्य समस्या आउँछ भन्ने थाहै छैन ।

प्रिन्ट गरिएको कागजमा खानेकुरा राखेर खाँदा त्यसले स्वास्थ्यमा पार्ने असरबारे बेलैमा सचेत हुन जरुरी छ ।

भिडियो हेर्नुहोस्