
काठमाडौं, भदौ २५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले आउँदो मंसिरमा हुन लागेको उपनिर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले तीनै तहको रिक्त उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले पार्टी एकताका विषयमा भने बुधबारको बैठकमा छलफल नभएकाले आगामी बैठकमा छलफल हुने जानकारी दिए ।
बैठकपछि सन्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले भने–‘दल दर्तासम्बन्धी सबै प्रक्रिया पूरा गरेर टुंग्याउन महासचिव पौडेललाई जिम्मेवारी दिइएको छ । अरु सांगठनिक एकीकरणसँग सम्बन्धित विषयकाबारेमा छिटै अर्काे बैठक आयोजना गरेर निर्णय लिइने छ ।’
सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेको ५० पदमा आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
सोही उपनिर्वाचनको प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगले दल दर्ता गर्न भदौ मसान्तसम्मको समयसीमा तोकेको छ ।
आयोगकाअनुसार मंसिर १४ मा प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४१ गरी ३६ जिल्लामा ५० पदमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको तयारीका कामहरु जारी रहेको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्