१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सरकारले अदालत र अख्तियारलाई तर्साएर लुटतन्त्र मच्चाएको छ : पौडेल


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, भदौ २४ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइको भरमा वर्तमान सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको मंगलबार पोखरामा उद्घाटन गर्दै उनले अदालतले गरेका फैसलाहरु बाझिनु भनेको दुईतिहाइकै हस्तक्षेप भएको दाबी गरे ।

‘दुईतिहाइ देखाएर अदालतलाई तर्साउने, दुईतिहाइ देखाएर अख्तियारलाई तर्साउने काम भएको छ’–उनले भने ।

‘एनसेलबारे अदालतले गरेको निर्णयमा सरकार किन बोल्दैन ?’–उनले प्रश्न गरे–‘सरकार किन ‘ठूला माछा’ समाउन सक्दैन ?’

एनसेल र ‘वाइडबडी’मा भएको भ्रष्टाचारमा सरकारले ‘ठूला माछा’लाई कारबाही गर्न नसकेको भन्दै उनले सरकार पूर्णरुपमा असफल भएको टिप्पणी गरे ।

सत्तामा पुग्ने बेला सपना बाँडेको तर सरकारले सपनाअनुसारको काम नगरेको हुँदा जनतामा निराशा छाएको उनले उल्लेख गरे ।

उनले भने–‘सरकारले सामान्य काम पनि गर्न सक्दैन । देशमा डेंगीको महामारी छ । तर, नियन्त्रण गर्ने क्षमता सरकारमा छैन ।’

सरकारको काम–कारबाहीले संविधानको मर्मलाई आघात पुर्‍याउने काम भएको आरोपसमेत नेता पौडेलले लगाए ।

उनले बीपीले देखाएको बाटो अंगीकार गरेमात्र कांग्रेसको सपना पूरा हुने बताए ।

बीपीभन्दा ठूलो समाजवादी हुँ भन्ने कम्युनिस्टले देशको शासन गरे पनि उनीहरुले पक्षपातको शासन गरिरहेको उनको भनाइ थियो ।

कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट हाल्न कांग्रेस नेता–कार्यकर्तालाई पौडेलले निर्देशन दिए ।

मंगलबारै पोखरा उपमहानगरपालिका–९ स्थित बीपी वाटिकामा नेता पौडेलले वृक्षरोपण गरे । सो अवसरमा विभिन्न जातका करिब १५० भन्दा बढी बिरुवा रोपिएको थियो ।