१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


आइआइएमसीको नेपाल च्याप्टर गठन, अध्यक्षमा अनिल गिरी चयन


0
Shares

काठमाडौं । अनिल गिरीको अध्यक्षतामा भारतीय जनसञ्चार संस्थान (आइआइएमसी)को नेपाल च्याप्टर गठन भएको छ ।

शनिबार राजधानीको याक एण्ड यति होटलमा एक कार्यक्रमको आयोजना गरी नेपाल च्याप्टर गठन भएको घोषणा गरियो ।

११ सदस्यीय नेपाल च्याप्टरमा आइआइएमसीमा पत्रकारिता अध्ययन गरेका सञ्चारकर्मी रहेको सदस्य नविन झाले जानकारी दिए ।

च्याप्टरले नेपाल भारत सम्बन्धमा सञ्चारमाध्यमको भूमिकाका विषयमा बहस, छलफल अध्ययन र अनुसन्धानको काम गर्ने सदस्य झाले बताए ।

उनका अनुसार आइआइएमसीमा अध्ययन गर्न जाने नेपाली सञ्चारकर्मीका लागि सहजीकरणको काम पनि नेपाल च्याप्टरले गर्नेछ ।

च्याप्टर घोषणा कार्यक्रममा भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल भारत सम्बन्ध जनस्तरमा रहेको भन्दै त्यसलाई दुबै देशका सञ्चारमाध्यमले अझै मजबुद बनाउन भूमिका खेल्नुपर्ने बताए ।

भारतीय जनसञ्चार संस्थानका महानिर्देशक कुलदीपसिंह धद्वालियाले दुइ देशको सम्बन्ध र विकास पत्रकारितामा आइआइएमसीको नेपाल च्याप्टरले भूमिका खेल्ने अपेक्षा गरे। उनले विकास पत्रकारिता पढ्नका लागि आउन नेपाली सञ्चारकर्मीलाई आग्रह समेत गरे ।

कार्यक्रममा हिन्दुस्तान टाइम्सकी नेसनल पोलिटिकल एडिटर सुनित्रा चौधरी, भारतको एनडीटिभीका वरिष्ठ कार्यकारी सम्पादक मनोरञ्जन भारती, एचटी डिजिटल मिडियाका वरिष्ठ पत्रकार प्रसाद सन्याल र देशसञ्चारका सम्पादक एवं वरिष्ठ पत्रकार युवराज घिमिरेसँग नेपाल च्याप्टर अध्यक्ष गिरीले सञ्चारको पछिल्लो ‘ट्रेण्ड’बारे समूहगत छलफल गरेका थिए ।

कार्यक्रममा आइआइएमसीका महासचिव हर्षेन्द्रसिंह वर्धन, एल्मुनाई एशोसियशनका सचिव रितेश वर्मा, नेपालका वरिष्ठ पत्रकारहरु तथा सञ्चारकर्मीको सहभागिता थियो ।