तीन वर्षमा सोचे भन्दा बढी काम भयो– मुख्यमन्त्री राउत • Image Khabar Image Khabar


तीन वर्षमा सोचे भन्दा बढी काम भयो– मुख्यमन्त्री राउत


Imagekhabar
३ फाल्गुन २०७७, सोमबार १५:४६

तीन वर्षमा सोचे भन्दा बढी काम भयो– मुख्यमन्त्री राउत

नवीन सिंह
जनकपुरधाम । प्रदेश सभा स्थापना भएको तीन वर्ष प्रदेश २ सरकारका लागि उपलब्धीमुलक रहेको मुख्मयन्त्री लालबाबु राउतले दाबी गर्नुभएको छ ।

सोमबार प्रदेश सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै प्रदेशमा सुशासन कायम गर्न सफल रहेको दावी गर्नुभयो । कर्मचारी र सुरक्षाकर्मी आफू मातहत नभए पनि प्रदेशमा सुशासन र शान्ति सुरक्षा कायम गर्न सफल भएको बताउनुभयो ।

गत तीन वर्षमा कर्मचारी व्यवस्थापन, भौतिक पुर्वाधार विकास निर्माण, कृषि, सिचाईं, सडक, राष्ट्रिय गौरवको योजना स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेटी बचाउ बेटी पढाउ, कानून निर्माण, स्वास्थ्य तथा शिक्षामा सुधार र कोभिड जस्ता महामारीलाई नियन्त्रण गर्न लगायतका अपेक्षाभन्दा बढी काम सम्पन्न भएको मुख्यमन्त्री राउतको दावी छ ।

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका नागरिकको सम्मान र स्मरण स्वरुप वीरगञ्ज महानगरपालिकाको तिलाबेमा मधेश आन्दोलन शहीद स्तम्भ तथा पार्क निर्माणको कार्य सुरु र आन्दोलनका क्रममा घाइते व्यक्ति तथा पिडित परिवारलाई राहत उपलब्धका साथै शहीद परिवारलाई रोजगारको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

भौतिक निर्माणतर्फ करीब ५१ किलोमिटर कालोपत्रे सहित ३ सय २० किलोमिटर सडक, बजार सेड, १४ वटा कल्भर्ट निर्माण गरिएको जनाकारी दिँखै मुख्यमन्त्री राउतले विभिन्न स्थानमा ३० वटा पुल निर्माणको क्रममा रहेको बताउनुभयो । उहाँले २ सय ४० वटा डीप टयूबेल तथा ३३ वटा पावर ड्रिल टयूबेल निर्माण सम्पन्न भइ साढे ५ हजार हेक्टर थप जमिन सिचार्इं सुविधा पुर्याइएको जनाइएको छ ।

गएको तीन आर्थिक वर्षमा संघ सरकारबाट सेवा प्रवाह तथा विकास गतिविधि सञ्चालन गर्न १ खर्ब ७ अर्ब बजेट व्यवस्था गरिएकोमा प्रदेश भित्रका १ सय ३६ स्थानीय तहहरूलाई वित्तीय हस्तान्तरण मार्फत ४ अर्ब ७७ करोड समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान तथा राजश्व बाँडफाँडबाट उपलब्ध गराइएको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्