काठमाडौं, भदौ २२ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने भ्रमणका लागि आज साँझ काठमाडौं आईपुगेका छन् ।
१९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका विदेशमन्त्री वाङ पाकिस्तान हुँदै साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायतले स्वागत गरेका थिए ।
विदेशमन्त्री वाङ विमानस्थलबाट होटल द्वारिकाजमा गएका छन् ।
नेपाल र चीनबीच भोलि दिउँसो साढे तीन बजे परराष्ट्र मन्त्रीस्तरीय वार्ता हुनेछ । दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
वार्तामा पुराना सम्झौता कार्यान्वयनको समीक्षा र पुनरावलोकन पनि हुने बताइएको छ ।
चिनियाँ विदेशमन्त्री वाङले भोलि साँझ पाँच बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसलगत्तै विदेशमन्त्री वाङको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नेछ ।
यस्तै मंगलबार बिहान वाङको टोलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्ने तय भएको छ ।
मंगलबार अपरान्ह तीन बजे चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।









प्रतिक्रिया दिनुहोस्