
दीपक श्रेष्ठ
काठमाडौं, भदौ २२ । काठमाडौंमा ट्राफिक जामको समस्या नौलो नभए पनि यसलाई हटाउन चालिएका नयाँ नयाँ योजना त्यति प्रभावकारी बन्न सकेका छैनन् ।
बढ्दो सवारी साधन, साँघुरो सडक अनि नियम पालना नगर्ने सवारी चालकहरुका कारण ट्राफिक जाम हुने गरेको छ भने अव्यवस्थित पार्किङ पनि सवारी आवागमनको समस्याका रुपमा देखिएको छ ।
काठमाडौंमा लाखौंको हाराहारीमा गुड्ने सवारी साधनको चाप थेग्न यहाँका सडक पर्याप्त छैनन् । व्यवस्थित पार्किङको अभाव पनि उत्तिकै छ । सवारी चाप न्यूनीकरणका लागि सडक विस्तार गरिए पनि यसबाट ट्राफिक जाममा अपेक्षाकृत कमी आएको देखिदैंन । जाम घटाउन फराकिलो बनाइएका सडकको हालत अहिले पनि उस्तै छ । त्यसमाथि सडक नै ढाकेर नियम विपरित राखिएका सशुल्क पार्किङ्गले पनि सवारी आवागनमा असर परेको देखिन्छ ।
नियमको ठाडो उल्लंघन गरेर विभिन्न स्थानहरुका सशुल्क पार्किङ्गबाट रकम असुल्ने काम भइरहेको छ । तर काठमाडौं महानगरपालिकाका सार्वजनिक निजी साझेदारी एकाइका निर्देशक ध्रुव काफ्ले भने सवारी साधन काठमाडौं केन्द्रित भएर बढी चलिरहेको हुँदा सडकलाई विकल्पको रुपमा पार्किङ गर्नु काठमाडौं महानगरपालिकाको बाध्यता भएको बताउँछन् ।
सडकको दायाँ बायाँ रहेका कार्यालय, रेष्टुरेन्टलगायतका व्यवसाय सञ्चालन गर्नेहरुले पनि सडकलाई नै पार्किङस्थल बनाउँदा सवारी आवागमनका बाधा पर्ने गरेको छ । व्यवसायीहरुले आफ्नो कार्यालयमा आउने सेवाग्राही र रेष्टुरेन्ट वा पसलहरुमा आउने ग्राहकहरुको सवारी बिसाउने पार्किङ्गको ब्यवस्था गर्नेतर्फ चासो नदिंदा पैदल यात्रुसमेत समस्यामा पर्ने गरेका छन् ।
सडक नै ढाकेर सवारी साधन पार्किङ गर्न दिने व्यवसायीहरुले निजी पार्किङस्थलको व्यवस्था गर्न पनि कुनै चोसो दिएको देखिदैंन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेल भने सडक सवारी साधन रोक्न र पार्किङ गर्नका लागि नभई गुड्नका लागि भएको बताउँछन् ।
काठमाडौमा बढ्दो सवारी चाप कम गर्न विस्तार गरिएका सडकमा जथाभावी पार्किङ्ग गरेर आवागमनमा बाधा उत्पन्न गर्ने काम भइरहेको छ भने निजी प्रयोजनका लागि सञ्चालित व्यवसायहरु अधिकांशको पनि आफ्नो पार्किङ स्थल छैन । जसका कारण सडकलाई नै उनीहरुले पार्किङ स्थल बनाइरहेका छन् । यसतर्फ सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने काठमाडौंको ट्राफिक जाम कम हुने नभइ झन् बढ्दै जानेछ ।
प्रतिक्रिया दिनुहोस्