२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024


सांसदका प्रश्न– जनताबाट अनावश्यक कर उठाएर एनसेललाई छुट किन ?


0
Shares

काठमाडौं, भदौ २२ । एनसेलको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्च अदालतको आदेशप्रति संसदमा प्रश्न उठेको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले एनसेलको पुँजीगत लाभकरका सम्बन्धमा सर्वोच्चको आदेश गलत भएको टिप्पणी गरे ।

सर्वोच्चको पछिल्लो आदेशले २०७५ माघ २३ गते सर्वोच्चकै बृहत्त इजलाशले गरेको आदेशको उल्लंघन भएको भन्दै प्रमुख सचेतक गुरुङले अदालतको आदेशले अर्बौंको घोटाला गराएको जिकिर गरे । उनले आदेशविरुद्ध सरकारका तर्फवाट तुरुन्तै पुनरावलोकन जरुरी रहेको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराए ।

सांसद हृदयेश त्रिपाठीले जनतासँग सरकारले अनावश्यक कर उठाइएकोमा आपत्ति जनाउँदै कर उठाउनका लागि कार्यदल गठन गर्न सुझाव दिए । उनले निम्न आयस्तर भएका जनतासँग अनावश्यक कर उठाउनु उचित नभएको भन्दै कर उठाउने भए टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलबाट उठाउन सुझाव दिए ।

सांसद त्रिपाठीले मधेश र थरुहट आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मागसमेत गरे ।

बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगी नियन्त्रणका लागि तत्काल ठोस कार्ययोजना ल्याउन सरकारसँग माग गरेको छ । बैठकको शून्य समयमा बोल्दै  कांग्रेसकी सचेतक पुष्पा भुसालले ७० हजारभन्दा बढी नागरिकलाई डेंगीको संक्रमण हुँदा पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आपत्ति जनाइन् ।

उनले डेंगी नियन्त्रणका लागि ठोस योजना बनाएर संसदमा पेश गर्न सरकारलाई रुलिङ गर्न सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराइन् ।

प्रतिपक्ष दलका अर्का सांसद देवेन्द्रराज कँडेलले गौहत्या नरोकिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । उनले सरकारविरुद्धको आन्दोलन हिन्दु राष्ट्रबारे जनमत संग्रह र संविधान परिर्वतनका लागि हुने चेतावनी दिए ।

सांसद भिमसेनदास प्रधानले पशुपतिनाथ मन्दिरमा राष्ट्रिय गान गाएर आरती सुरु गर्नुपर्ने नियमको विरोध गरे । आरती गाउने ठाउँ नजिकै दाहसंस्कार गर्ने ठाउँ पनि रहेको भन्दै उनले राष्ट्रियगान बज्दा दाहसंस्कार गर्दै गरेकाहरुले उभिने कि नउभिने भन्दै प्रश्न गरे ।

बैठकमा सांसदहरु जुलीकुमारी महतो, नरमाया ढकाल, पुष्पाकुमारी कर्ण, पार्वता डिसी चौधरी, पार्वती कुमारी विशुंखे र प्रमला राई लगायतले किशोरीमाथि एसिड आक्रमणका घटना बढ्दै गएको भन्दै कडा कदम चाल्न र महिलाको सुरक्षाका लागि कडा कानुन बनाउन सरकारको ध्यानाकर्षण गराए ।

भदौ २० गते बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका–३, छपकैयाकी १५ वर्षीय मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

तस्वीर : रासस