२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अनुदानको नुन वितरण शुरु


0
Shares

सन्तोष राउत

सोलुखुम्बु, भदौ २२ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय सोलुखुम्बुले दशैं–तिहारलाई लक्षित गरी सहुलियत दरको आयोडिन नुन वितरण शुरु गरेको छ ।

नुन आपूर्ति समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालको अध्यक्षतामा बसेको बैठकले प्रतिघरधुरी २५ किलोका दरले नुन वितरण गर्ने निर्णय गरेपछि वितरण थालिएको साल्ट ट्रेडिङका सोलुखुम्बु प्रमुख श्यामप्रसाद शाहले जानकारी दिए । 

सोताङ र महाकुलुङ गाउँपालिका लागि सोताङमा रहेको लालीगुराँस महिला बचत तथा ऋण सहकारी संस्थाले वितरणको जिम्मा लिएको छ । अन्य पालिकाका लागि सल्लेरी डिपो कार्यालयबाट नुन वितरण भइरहेको प्रमुख शाहले बताए ।

उनअनुसार गएको अर्थिक वर्षको ९८२ क्विन्टल नुुन मौज्दात रहेको र चालु आर्थिक बर्षका लागि ६ हजार क्विन्टल नुन केन्द्रबाट आउने तयारीमा छ । मौज्दात रहेको नुनबाट दशैं–तिहारको लागि वितरण थालिएको उनले बताए ।

नून वितरण शुरु भएपछि सर्वसाधारण खुशी भएका छन् । सहुलियत दरको आयोडिन नुन पाउँदा बजारमा महँगो मूल्य तिरेर नुन किन्नु नपर्ने उपभोक्ता पूर्ण तामाङले बताए । सहुलियतको नुन प्रतिकेजी नौ रुपैयाँका दरले उपलब्ध गराएको साल्ट ट्रेडिङ कर्पोरेशन सोलुखुम्बु शाखाले जनाएको छ ।