-ध्रुव भट्टराई/ईमेज
विराटनगर । पूर्वी नेपालका शिविरहरुमा पुनस्र्थापनापछि बाँकी रहेका शरणार्थीमध्ये केहीको अवस्था दयनीय देखिएको छ ।
पुनस्र्थापना कार्यक्रममार्फत् तेस्रो मुलुकमा गएकाहरुले खोजखबर नगरेपछि अपांगता भएका, अशक्त तथा वृृद्धवृद्धालाई समस्या भएको हो ।
पूर्वी नेपालका शिविरहरुमा रहेका एक लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना भइसकेका छन् ।
बाँकी रहेका ६ हजार ६ सय ३४ शरणार्थीमध्ये अपांग तथा अशक्त भएका ७ सय ३५ जनाको दिनचर्या नाजुक अवस्थामा पुगेको छ ।
विदेश पुनस्र्थापित भएपछि आफन्तले बेवास्ता गरेपछि उनीहरु कष्टकर जीवन बिताइरहेका हुन् ।
पूर्वी नेपालको पथरी शनिश्चरे भुटानी शरणार्थी शिविरकी ६५ वर्षीया दावा तामाङ २ बर्षदेखि शिविरमा एक्लै बस्दै आएकी छन् । दुई छोरा पुनर्वासमा गए भने छोरीको पनि विवाह भइसक्यो ।
त्यसपछि उनी सहाराविहीन जस्तै बनेकी छन् । अहिले आफूलाई बिरामी पर्दा औषधि खुवाउनेसमेत कोही नहुँदा उनको मन निकै कुँडिने गर्दछ ।
पथरी शनिश्चरेमा विगत २८ बर्षदखि बस्दै आएकी अर्की ७१ वर्षीया अभिमाया राईको अवस्था पनि उस्तै नाजुक छ ।
भएको एकमात्र छोरा पनि अशक्त भएपछि दैनिकी गुजार्नको लागि उनले शिविरभित्रै तरकारी पसल चलाउँदै आएकी छन् ।
दावा तामाङ र अभिमाया जस्तै शिविर भित्रको जीवन बिताइरहेका वृद्ध÷वृद्धाले बुढ्यौली उमेरमा पनि स्याहारसुसार पाउन सकेका छैनन् ।
पुनर्वासमा जान छुटेकाले एक्लो जीवन बिताइरहेका उनीहरुको जीवन निकै कष्टकर बनेको भुटानी शरणार्थी महिला मञ्चकी कार्यक्रम संयोजक सनमती सुब्बाको भनाइ छ ।
पथरी शनिश्चरे र दमकको बेलडाँगी शिविरमा ७ सय ३५ जना अपाङ्गता भएका, आफन्त नभएका, अशक्त तथा वृद्ध/वृद्धा रहेका छन् ।
उनीहरुका छोरा, बुहारी, श्रीमती पुनस्र्थापना कार्यक्रम अन्तर्गगत अमेरिका, अस्ट्रेलियालगायतका विभिन्न मुलुक पुगेका हुन् ।
तर पुनस्र्थापनमा गएकाहरुले यहाँ छोडिएका आफन्तलाई खोजखबर नगरेपछि समस्या उत्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्