१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छन् ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विद्या भूषण पदक तथा नेपाल छात्रा विद्या पदक वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताएकी हुन् ।

उनले सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकांक्षा साकार पार्न उपयोगी हुने विश्वास व्यक्त गर्दै संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण हुने विश्वास व्यक्त गरिन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा रुपान्तरण सरकारको उच्च प्राथमिकतामा रहेको र दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने जानकारी दिए । समारोहमा विभिन्न विद्या पदक वितरण गरिएको छ ।

सन् १९६५ मा युनेस्कोले प्रत्येक बर्ष सेप्टेम्बर ८ का दिन साक्षरता दिवस मनाउने घोषणा गरेसँगै यो दिवस मनाउन सुरु गरिएको हो ।