१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


सुस्ताबासीको पीडा : आफ्नै देश सँधै विरानो


0
Shares

-विवेक भण्डारी(ईमेज)

नवलपरासी । पश्चिम नवलपरासीस्थित सीमाक्षेत्र सुस्ताका स्थानीयवासी नारायणी नदीमा पुल नहुँदा समस्यामा परेका छन् ।

वर्षौँदेखि जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता भए पनि सरकारी उदासीनताको कारण उनीहरुलाई देश नै विरानो लाग्न थालेको हो ।

पश्चिम नवलपरासीका सुस्तावासी नारायणी नदीमा पुल नबन्दा डुंगाबाट जोखिमपूण यात्रा गर्न बाध्य छन् ।

सुस्ता गाउँपालिकाको समस्या सरकारको प्राथमिकतामा नपर्दा आफ्नै देश सुस्तावासीका लागि सधै विरानो बन्ने गरेको छ ।

तीनतिरबाट नारायाणी नदी र एकतिर भारतले घेरेको सुस्तामा पुल नबनेकाले नदी अत्याधिक बढ्दा कहिलेकाहीं अरु ठाउँसग सम्पर्कविहीन बन्नुपर्ने अवस्था छ । 

सुस्तावासीका लागि नारायणी नदीमा झोलुङ्गे पुलनिर्माण गर्ने भनिए पनि ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा काम अलपत्र परेको स्थानीय लख्खु यादव बताउँछन् ।

साढे एक किलोमिटर लम्बाइ र १ दशमलव ६ मिटर फराकिलो पुल निमार्णका लागि त्रिशूली आश्रय जेभी कन्स्ट्रक्शन कम्पनीले २७ करोड रुपंैयांँमा ठेक्का लिएको हो ।

२०७३ साल पुस महिनामा काम सुरु गरेर डेढ वर्षमा सक्नुपर्ने काम अहिलेसम्म १० प्रतिशत पनि भएको छैन् ।

नारायणी नदीमा पुल नहुँदा सुस्ताबासीलाई प्रशासनिक, स्वास्थ्य उपचार र दैनिक कामकाजका लागि पनि भारतीय बाटोहुँदै नेपाल आउनुपर्ने बाध्यता रहेको अर्का स्थानीय मुन्सी गुप्ताको गुनासो छ ।

पुल नहँुदा सुस्तामा उत्पादित कृषि उपजले बजार पाएका छैनन् भने बिक्रीका लागि बजार ल्याउन पनि भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता  छ ।

आफ्नै देश सधैं विरानो भएको भन्दै सुस्ताबासीले चिन्ता प्रकट गर्ने गरेका छन् ।

यस्ता विषयमा सरोकारवाला निकायको मौनताप्रति उनीहरु दिक्दार बनेका छन् । ईमेज समाचारका लागि पश्चिम नवलपरासी ।