
प्रतीक्षा खनाल (इमेज)
काठमाडौं, भदौ २१ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले संयुक्त प्रतिवेदन तयार भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि दुई देशका प्रधानमन्त्रीसमक्ष बुझाउने वातावरण बन्न सकेको छैन ।
प्रतिवेदन पहिला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउन इपीजी सदस्यले प्रयास गरे पनि मोदीको समय पाएनन् ।
उच्चस्तरीय भेटघाट तथा मन्त्रिस्तरीय बैठकमासमेत यो विषयले प्राथमिकता नपाउँदा भारतले प्रतिवेदनलाई बेवास्ता गर्न खोजेको आशंका बढ्दो छ ।
काठमाडौंमा हालै सम्पन्न नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमा नेपाल भारत प्रबुद्ध व्यक्तिको समूह (इपीजी)कोे विषयले प्राथमिकता पाउन सकेन ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा इपीजीले तयार पारेको प्रतिवेदन बुझाउने विषयमा छलफलमात्र भएको उल्लेख गरिएको छ ।
सहमतिअनुसार प्रतिवेदन भारतका प्रधानमन्त्रीले बुझेपछि नेपालका प्रधानमन्त्रीलाई बुझाउने तय गरिएको थियो ।
व्यस्तताका कारण भारतीय प्रधानमन्त्री मोदीले बुझ्न नसकेको भारतीय पक्षले बताउँदै आएपनि भित्रि कारण भारतीय कर्मचारीतन्त्रले प्रतिवेदन नरुचाउनु रहेको एकथरी जानकारहरुको बुझाइ छ ।
सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि पुनरावलोकनका लागि नेपालले गरेको प्रयासलाई भारतले नरुचाएको र नेपालको मागअनुसार सन्धि पुनरावलोकन भए भारतको सुरक्षा चासो सम्बोधन नहुने भारतीय बुझाइको सन्दर्भलाई पनि प्रतिवेदनसँग जोडेर हेरिएको छ ।
यता, भारततर्फका प्रबुद्ध समूहका संयोजक भगतसिंह कोशियारी महाराष्ट्रका गभर्नर नियुक्त भएपछि प्रतिवेदन बुझाउने विषय थप अन्योल बनेको छ ।
तर, भिन्न जिम्मेवारीमा रहेर पनि कोशियारीले आफ्नो भूमिका निर्वाह गर्नेमा विश्वस्त छन्, नेपालतर्फका प्रबुद्ध समूहका संयोजक रहेका डा. भेषबहादुर थापा ।
समूहको कार्यावधि सकिएकै महिनौं बितिसकेको छ । इपीजीको प्रतिवेदन २०७५ असारमै तयार भएको थियो ।
प्रतिवेदन इपीजी सदस्यबीच दुवै देशका प्रधानमन्त्रीको संयुक्त पहलमा तयार भएकाले केही ढिलाइ भएपनि राजनीतिक पहलबाटै प्रतिवेदन बुझ्ने वातावरण बन्ने डा. थापाको विश्वास छ ।
दुई देशको बदलिँदो सामाजिक, राजनीतिक परिवेशमा विगतका सन्धि–सम्झौता र सहमतिको अध्ययन, अनुसन्धान गरी पुनरावलोकनका लागि सुझावसहितको तयार पारिएको साझा प्रतिवेदनलाई नेपाली पक्षले निकै महत्व दिएको देखिन्छ ।
तर, यसलाई भारतले कहिले बुझ्छ, कुनै टुंगो लागेको छैन ।
प्रतिक्रिया दिनुहोस्