सर्लाही, भदौ २१ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य महेन्द्र राय यादवले कुनैपनि हालतमा बाराको निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने दोहोर्याएका छन् ।
शनिबार सर्लाहीको लालबन्दीमा सामुदायिक सन्चार एकता सहकारी संस्थाको १०औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
यसअघि, गएको बुधबारको प्रतिनिधिसभा बैठकमा पनि यादवले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने धारणा राखेका थिए ।
विमानस्थलका लागि चाहिने आवश्यक रुखमात्रै काट्नुपर्ने उनले बताए ।
स्थानीय सर्वसाधारण, स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी विमानस्थल निर्माणको काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।
नेता यादवले पछिल्लो समय चुरे क्षेत्र अतिक्रमणबाट देखिएका खानेपानीको अभावलगायत अरु समस्या समाधान गर्न चुरेको संरक्षणका लागि स्थानीयवासी र तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताए ।
तराईलाई मरुभूमि हुनबाट जोगाउन पनि चुरे संरक्षणको विकल्प नरहेको उनको भनाइ छ ।
सर्लाही क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका उनले जनप्रतिनिधिलाई विकास निर्माणमा अझ जिम्मेवार बनाउन सन्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।
सन्चारमाध्यमले सही/गलत औंल्याएर विकासमा सहयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
स्थानीय तहदेखि केन्द्रसम्म नै हाल बेथिति बढिरहेको भन्दै उनले यो समयमा सन्चारमाध्यम अझ जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
सामुदायिक सन्चार एकता सहकारी संस्थाले लालबन्दीबाट प्रसारण भइरहेको सामुदायिक रेडियो एकता ९२.४ मेगाहर्ज सन्चालन गरिरहेको छ ।
साधारणसभाले पुनः बेनीबहादुर कार्कीको अध्यक्षतामा रेडियो एकताको १३ सदस्यीय सन्चालक समिति चयन गरेको छ ।









प्रतिक्रिया दिनुहोस्