१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


हल्कादेखि मध्यम वर्षाको सम्भावना, ‘सोमबारदेखि मनसुन अझै सक्रिय’


0
Shares

काठमाडौं, भदौ २१ । मनसुनी न्यूनचापीय वायुको प्रभावले शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् ।

उक्त न्यूनचापीय रेखा तलतिर सर्नेक्रम जारी रहेकाले अबका केही दिन मनसुन सक्रिय रहने मौसमविद्को भनाइ छ ।

शनिबार र आइतबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘सोमबारदेखि मनसुन अझै सक्रिय हुँदै जानेछ’–मौसमविद् बासीले भनिन् ।

हाल देशभरि आंशिकदेखि सामान्य बदली भइ पश्चिमी भू–भागका केही स्थानमा साथै पूर्वी भू–भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, मध्य र पूर्वी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य र पूर्वी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम २०.० डिग्री र अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस रहेको छ । रासस