Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सरकारी जग्गा संरक्षण गर्न सरकारलाई दवाव


0
Shares

काठमाडौं, माघ ३० । सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी र सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ ।

समितिले काठमाडौंको शान्ति बाटिकामा शुक्रबार कार्यक्रम गरेर सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने जानकारी दिएको होे ।

बालुवाटारको ललिता निवासलगायतका सरकारी जग्गाजमिन सरकारले आफ्नै मातहतमा ल्याई भोगचलन गराउन दबाब दिँदै माघ २३ गतेदेखि हस्ताक्षर अभियान चलाएको संघर्ष समितिले सरकारलाई बुझाउने भएको हो ।

समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा सरकारको नाममा कायम गरी जग्गा अपचलन गर्नेलाई कारबाही गर्न दबाबका लागि हस्ताक्षर अभियान सञ्चालन गरिएको जनाएको छ ।

त्यसैगरी धोबीखोला बगेको साबिक नगर २५ (क) कित्ता नं. ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्रीलाई कारबाही गरी जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा समेत मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधिशलाई कारबाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको संघर्ष समितिका महासचिव युवराज कोइरालाले जानकारी दिनुभयो ।

संघर्ष समितिले माघ २३ गतेदेखि सुरु गरेको हस्ताक्षर अभियान शुक्रबार शान्ति बाटिकामा कोणसभा गरी समापन गरेको छ ।