डम्मर बुढा मगर/ईमेज
बाग्लुङ । कला–संस्कृतिमा धनी मानिने बाग्लुङमा पछिल्लो समय ताराखेलमा आकर्षण बढ्दै गएको छ । परम्परादेखि हुर्किँदै आएको यो खेल अहिले अन्तर्राष्ट्रियस्तरमै खेल्न थालिएको हो ।
पहिलेपहिले शिकार खेल्नको लागि प्रयोग गरिन तीर अथात् धनुषवाण अहिले खेलकै रुपमा विकास हुँदै गएको छ ।
बाग्लुङलगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रचलित यो खेल आदिवासी जनजातीहरु बढी मात्रामा खेल्ने गरेको पाइन्छ ।
बाग्लुङको ढोरपाटन, तमानखोला, ताराखोला, काठेखोला, लगायतका स्थानहरुमा अझ बढी प्रचलित छ ।
चाडपर्व र मेला महोत्सवको अवसरमा खेलिने ताराखेलमा युवाहरु समेत आकर्षित बन्दै गएका छन् ।
पुर्खाहरुले खेल्दै आएको यस खेललाई आफूहरुले पनि निरन्तरता दिएको र अहिले अन्तर्राष्ट्रिय स्तरमै खेल्न थालिएको म्याग्दीका खेलाडी धम पुनको भनाइ छ ।
तारो खेलको संरक्षण र प्रतिभा पहिचान गर्ने उद्देश्यले विभिन्न समयमा प्रतियोगिताको आयोजना भइरहेका छन् ।
आदिवासी जनजातिहरु खास गरी पहाडको माथिल्लो भेगमा बस्ने र मृग शिकार गर्नको लागि प्रयोग गर्ने धनुष वाणलाई पछिल्लो पुस्ताहरुले खेलको रुपमा विकास गरेको बाग्लुङका खुम बहादुर पुन बताउँछन् ।
यस खेलको संरक्षण र सम्बद्र्धनका गर्ने जिम्मेबारी युवापुस्ताको काँधमा आएको छ ।
कलासँगै परम्परासँग जोडिएको ताराखेललाई जोगाउन सके मात्र पुर्खाहरुको सम्मान र आफूहरुको पहिचान हुनेछ ।
प्रतिक्रिया दिनुहोस्