
शंकर खनाल/राममान डंगोल (इमेज)
काठमाडौं, साउन ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सन्चालनप्रति असन्तुष्टि जनाएका छन् ।
संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४०औं स्मृति दिवसको अवसरमा सोमबार कीर्तिपुरमा भएको कार्यक्रममा उनले पार्टी सन्चालन पद्धति र नेतृत्वको खरो आलोचना गरे ।
नेता नेपालले एकलौटी होइन, सामूहिक निर्णयको आधारमा पार्टी सन्चालन गर्नुपर्ने बताए । निर्णय एउटा काम अर्कै हुँदा पार्टी बदनाम हुन थालेको उनको टिप्पणी थियो ।
पार्टीले गरेका निर्णयहरुमा कमा, फुलिस्टप पनि तलमाथि हुन नहुने भन्दै वरिष्ठ नेता नेपालले निर्णयलाई तलमाथि नगर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई चेतावनी दिए ।
उनले पार्टी सबैको साझा भएकाले बिर्ता नठान्न सबैको होस खुल्नुपर्ने बताए ।
नेता नेपालले कसैले आफूलाई सर्वेसर्वा ठाने पहिलो गाँसमै ढुंगा लाग्ने चेतावनी पनि दिए ।
उनले दुईतिहाइ बहुमतको सरकार हुँदासमेत जनताको पक्षमा काम गर्न नसकेको भन्दै सरकारको शैलीप्रति असन्तुष्टि जनाए ।
नेता नेपालले सबै प्रदेशमा कम्युनिस्ट पार्टीको सरकार हुँदासमेत भ्रष्टाचार बढेको भन्दै सरकारले सुशासन दिन नसकेको बताए ।
बहुमत ल्याएँ भनेर काम नगरी घमन्डमात्र गरेर नहुने भन्दै नेपालले चुनौतीलाई चिर्न सकिएन भने त्यसले क्यान्सरको रुप लिने भएकाले बेलैमा सचेत हुनुपर्ने बताए ।
प्रजातन्त्रवादी र वामपन्थीहरुको सामूहिक संघर्षबाट निरंकुशता अन्त्य भएकाले मुलुकमा अब अधिनायकवाद नआउने ठोकुवा पनि उनले गरे ।
नेता नेपालले पुष्पलालको सामूहिक नेतृत्वको भावनाअनुसार पार्टीलाई अगाडि बढाउनसके पुष्पलालको समृति दिवसले सार्थकता पाउने बताए ।
आफ्नो सम्बोधनलाई बिट मार्दै वरिष्ठ नेता नेपालले पृथ्वीनारायण शाहको महावाणीलाई सम्झेर भने–‘पार्टीका शीर्ष नेताहरुलाई चेतना भया !’
प्रतिक्रिया दिनुहोस्