२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


मानव बेचविखनको विषय झन् जटिल बन्दै


0
Shares

मीरा बस्नेत र नवीन स्थापित (इमेज)

काठमाडौं, भदौ २० । मानव बेचविखन तथा ओसारप्रसारविरुद्धको १३औं राष्ट्रिय दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

‘सरकारको प्रतिबद्धता, मानव बेचविखन तथा ओसारप्रसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नारासहित यो दिवस मनाइएको हो ।

चेलीबेटी बेचविखन नेपाली समाजमा विगत लामो समयदेखि सामाजिक समस्याकारुपमा रहेको छ ।

तर, पछिल्लो समय यो समस्या मानव तस्करीको भयावह समस्या बन्न थालेको सरोकारवालाहरु बताउँछन् ।

केही महिनाअघि राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७३/०७४ मा मानव बेचविखनविरुद्धका ३०५ उजुरी परेको थियो ।

तर, आर्थिक वर्ष २०७४/७५ र २०७५ को चैत मसान्तसम्ममा सबैभन्दा बढी प्रदेश नम्बर–५ मात्र १२२ ओटा उजुरी परेको देखिन्छ ।

आयोगको मानव बेचविखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा प्रदेश नम्बर–१ मा ८७ ओटा मानव बेचविखन घटनाका उजुरी परेको देखिन्छ ।

यस्तै, काठमाडौं उपत्यकामा ६९ र प्रदेश नम्बर–३ अन्तर्गत्का अन्य जिल्लाहरुमा ३५ ओटा मानव बेचविखनका उजुरी परेको देखिन्छ ।

आयोगको प्रतिवेदनअनुसार विगत ५ वर्षको तथ्यांकलाई हेर्दा मानव बेचविखनविरुद्ध एक हजार ४८९ उजुरीहरु परेका छन् ।

जसमध्ये सबैभन्दा धेरै ६४० जनालाई लोभलालच देखाएर र ५०२ जनालाई ललाइफकाइ गरेर बेचविखन गरिएको छ ।

पछिल्लो समय मानव बेचविखनका घटनाको स्वरुप, प्रवृत्ति र शैलीहरुमा व्यापक परिवर्तन आएको छ ।

वैदेशिक रोजगारी, शैक्षिक परामर्श, अन्तरदेशिय विवाह, पर्यटन तथा सांस्कृतिक कार्यक्रम, धर्मसन्तानलगायतका विभिन्न नाममा मानव बेचविखन भइरहेका छन् ।

विगतमा मानव बेचविखन तथा ओसारप्रसारका मुख्य कारण अशिक्षालाई मानिएपनि अहिले पढेलेखेका युवा–युवती पनि विभिन्न बाहनामा भारतलगायतका तेस्रो मुलुकमा बेचिनेक्रम बढ्दो छ ।

तर, सरकारसँग अहिलेसम्म कति मानव बेचविखनमा परे भन्ने स्पस्ट तथ्यांक छैन ।

हरेक वर्ष सरकारले मानव बेचविखनविरुद्धको दिवस त मनाउँछ तर यस्ता दिवसहरु भने प्रभावकारी हुनसकेका छैनन् ।

सरकारले मानव बेचविखन तथा ओसारप्रसार नियन्त्रणका लागि भन्दै  मानव बेचविखन तथा ओसारप्रसार नियन्त्रण ऐन २०६४ त जारी गर्‍यो तर त्यसको प्रभावकारी कार्यान्वयन पनि हुनसकेको छैन ।

मानव बेचविखनसम्बन्धी विद्यमान कानुन नै स्पस्ट नभएको भन्दै कानुन संशोधनको माग पनि उठिरहेको छ । सरकारले भने यसलाई बेवास्ता गरिरहेको छ ।

महिला मन्त्रालयअन्तर्गत् रहेको मानव बेचविखन तथा ओसारप्रसार नियन्त्रण शाखाकी अधिकृत कोपिला राई मानव बेचविखनको विषय झन् जटिल बन्दै गइरहेको बताउँछिन् ।

मानव बेचविखनमा परेकाहरुको उद्धारका लागि विभिन्न मन्त्रालयसँग समन्वय गरी काम गरिरहेको उनको भनाइ छ ।

पछिल्लो समय परिवर्तित जीवनशैली, अरुको देखासिखी र रोजगारीको अभावलगायतका कारण मानव बेचविखनका घटना बढ्दै गइरहेका छन् ।

जबसम्म सरकारले युवाहरुलाई देशमै रोजगारी सिर्जना गर्न सक्दैन, तबसम्म मानव बेचविखन नियन्त्रण गर्न हुन नसक्ने शाखा अधिकृत राईको भनाइ छ ।

भिडियो हेर्नुहोस्