काठमाडौं, भदौ २० । मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औँ राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
बालबालिका बेचविखन विरुद्धको सार्क महासन्धिलाई तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएको दिनको सम्झनामा २०६४ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
काठमाडौंमा भएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै चुनौतीको रुपमा देखिएको भन्दै नेपालजस्तो विकासोन्मुख देशका लागि झनै गम्भीर बनेको बताए ।
उनले सरकारले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका लागि प्रयास गरिरहे पनि बेचविखनको बद्लिँदो स्वरुपले नियन्त्रण गर्न नसकिरहेको बताए ।
गृहमन्त्री थापाले मानव बेचविखन नियन्त्रणको लागि सरकारले थप कडा कदम चाल्ने बताए । यसका लागि सबै तहका सरकारहरुले समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन नियन्त्रणका लागि आवश्यक कानुन तयार गरि विभिन्न कार्यक्रहरु सञ्चालन गरिरहेको बताइन् । उनले सरकार, प्रहरी र गैरसरकारी संस्थाहरुको पहलले मात्र यसलाई नियन्त्रण गर्न नसकिने भन्दै सबै जागरुक हुन आवश्यक रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्