२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


घर पाएपछि दंग भए हुरीपीडित (भिडियो)


0
Shares

प्रकाश लम्साल (बारा)/अनिल तिवारी (पर्सा)

बारा, भदौ २० । बारा र पर्साका हुरीपीडित पाँच महिनामै सरकारले बनाएको घर पाएपछि उत्साहित भएका छन् । छोटो अवधिमै सरकारनिर्मित घर पाएपछि उनीहरुले सरकार र नेपाली सेनालाई धन्यवाद दिएका हुन् ।

गत चैत्र महिनामा आएको हावाहुरीले वितण्डा मच्चाएसँगै विस्थापित भएकाहरु नयाँ घर पाएपछि खुसी भएका हुन् । नेपाली सेनाको आवास पुनर्निर्माण कार्यदलले निर्माण कार्य पुरा गरेको ८ सय ६९ जनाको घर बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो । सेनाले झन्डै एक सय एक दिन लगाएर पीडितहरुको लागि २ कोठा, एउटा शौचालय र बरण्डा भएको व्यवस्थित घर निर्माण गरेको हो ।

एउटा घर निर्माणका लागि ४ लाख ८४ हजार ८ सय ८८ रुपैयाँ ६० पैसा खर्च भएको सेनाले जनाएको छ । सेनाको जनता आवास पुनर्निर्माण कार्यदलका अध्यक्ष एवं प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल मार्फत् पीडितहरुलाई घर हस्तान्तरण गरेका थिए ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलले वीरगञ्जमा गरेको घर हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेलले पालिका, प्रदेश र संघीय सरकारको आपसी समन्वय र नेपाली सेनाको कार्यदक्षताका कारण बारा र पर्साका हावाहुरी पीडितले घर पाएको भन्दै घर निर्माणमा जुट्नै सबैलाई धन्यवाद दिएका थिए ।

उद्धार र औषधि उपचारमा प्रशंसनीय काम गरेको सेनाले छिट्टै नै घर बनाइदिएपछि स्थानीय पनि निकै खुसी भएका छन् । 

बारा र पर्सामा गत चैत १७ गते विनाशकारी हावाहुरी चलेको थियो । नेपाली सेनाले वैशाख २१ गतेबाट घर बनाउन शुरु गरेको थियो । सेनाले पाँच महिनामै ८ सय ६९ घर बनाएर हस्तान्तरण गरेको हो ।

बारा र पर्सामा गएको हावाहुरीमा २८ जनाले ज्यान गुमाएका थिए भने करीव १३ सय घरधुरी विस्थापित भएका थिए । जसमध्ये पूर्ण क्षति भएकाहरुको घर सेनाले निर्माण गरिदिएको हो । 

भिडियो हेर्नुहोस्