
-दीपक घिमिरे/ईमेज:
भैरहवा, जेठ ३१ । सबैभन्दा बढी आवतजावत हुने रुपन्देहीको बेलहियाका केही ट्राभल एजेन्सीले पर्यटकलाई ठग्ने गरेको पाइएको छ ।
जिल्ला अनुगमन समितिका अनुगमनपश्चात् दर्ताबिनै संचालित केही ट्राभल एजेन्सीले पर्यटकलाई ठगेको भेटिएपछि ३ वटा ट्राभल एजेन्सी फन्दामा परेका छन् ।
बेलहिया सीमा–नाका जहाँबाट सबैभन्दा बढी पर्यटक भित्रिने गर्छन् । सरकारले पनि बढी भन्दा बढी पर्यटकलाई कसरी आकर्षित गर्ने भन्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।
तर बेलहिया नाकामा रहेका केही ट्राभल एजेन्सी भने पर्यटकलाई कसरी धेरै लुट्ने र ठग्ने भन्नेमै केन्द्रित छन् ।
गैरकानुनी रुपमा ट्राभल्स एजेन्सी खडा गरी पर्यटकलाई ठग्ने र अल्मल्याउने कामले सम्पूर्ण पर्यटन क्षेत्रको बदनाम भएको भन्दै केही उजुरी दर्ता भएका थिए ।
उजुरी बढ्दै गएपछि जिल्ला अनुगमन समितिले अनुगमनको क्रममा विनचेष्टर ट्राभल एण्ड टुर्स प्रालि, महाराजा ट्राभल्स एण्ड ट्रेकर्स र लिंक एब्रोड टुर्स एण्ड ट्राभल्सलाई गैरकानुनी ठहर गरी ताला लगाएको छ ।
दर्ताबिना र गैरकानुनी तरिकाले चलाइएका यस्ता एजेन्सीका कारण पर्यटन व्यवसायीको बदनाम भएको बाणिज्य कार्यालय भैरहवाका प्रमुख तथा अनुगमन समितिका संयोजक वेदप्रकाश उपाध्यायको भनाइ छ ।
बेलहिया क्षेत्रमा बिचौलियाहरुको प्रभाव बढ्दा पर्यटकहरु ठगिएको भन्दै नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर्स एजेन्ट (नाटा)को पनि ध्यानाकर्षण भएको छ ।
ट्राभल व्यवसायको नाममा अवैध रुपमा दलाल एजेन्टहरुले पर्यटन क्षेत्रको बदनाम गरेको नाटाका पदाधिकारीको आक्रोश छ ।
घुमफिर गर्न आएका पाहुनालाई यसरी ठग्नु निकै निन्दनीय छ । यसले हाम्रो देशको र पर्यटन व्यवसायीको समेत बदनाम गराएको छ ।
भित्रिएका पर्यटकलाई ठग्ने र लुट्ने काम गरी उनीहरुलाई चिढ्याउने र तर्साउने खालका कुकृत्यले पर्यटकलाई आकर्षण गर्ने सरकारी नीतिको उपहास भइरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्