Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


धनगढीमा पेस्तोल, सुन र करोडौंका तमसुकसहित पक्राउ परेका तीनजना सार्वजनिक


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ १९ । प्रहरीले धनगढीको चटकपुरबाट चारथान पेस्तोल, सुन र विभिन्न कागजातसहित पक्राउ परेका तीनजनालाई सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार पक्राउ गरेका तीनैजनालाई बिहीबार धनगढीमा सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएकामा धनगढी उपमहानगरपालिका–६, मटियारीका सञ्जय राणा भनिने सञ्जयशमशेर राना, सोही ठाउँका कमलबहादुर बिक र धनगढी–३ का रुद्रप्रसाद अधिकारी छन् ।

प्रहरीले उनीहरुको साथबाट चारथान पेस्तोल, ३७९.३६ ग्राम सुन, तमसुक र नेपाल राष्ट्र बैंकका नक्कली कागजातसमेत बरामद गरेको छ ।

विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक, दुई करोड ४५ लाख रुपैयाँका काटेका चेकसहित १०६ करोड रुपैयाँको राष्ट्र बैंकको एउटा नक्कली चेक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

अहिले प्रारम्भिक अनुसन्धानकाक्रममा उनीहरु ‘मिटर ब्याज’ र हातहतियारको कारोबारी भएको खुल्न आएपनि विस्तृतरुपमा अनुसन्धान गर्न बाँकी रहेको उनले बताए ।

७ दिन म्याद थपेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।