
काठमाडौं, माघ २५ । राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम नेपाल पुलिस क्लबले कमजोर प्रदर्शन गरेको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आइतबार भएको खेलमा पुलिस स्याङ्जाको वालिङ नगरपालिकासँग १/० ले पराजित भएको हो ।
वालिङका लागि क्यामरुनी खेलाडी मेथो रुथले निर्णायक गोल गरिन ।
यो जितसँगै वालिङ ७ खेलमा ११ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा पुगेको छ ।
८ अंकको पुलिस भने पाँचौं स्थानमा झरेको छ ।
यता, रौतहटको चन्द्रपुर नगरपालिकाले दोस्रो जित हासिल गरेको छ ।
आइतबार भएको खेलमा विराटनगर महानगरपालिकालाई १/० ले नै पराजित गर्दै चन्द्रपुर विजयी भएको हो ।
रजनी थोकरले निर्णायक गोल गरिन ।
लिग अन्तर्गत सोमबार सशस्त्र प्रहरीको एपीएफ र चौदण्डीगढी नगरपालिका भिड्ने छन् ।
लिगमा सतप्रतिशत नतिजा हासिल गरिरहेको सशस्त्र प्रहरी ६ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको ७ खेलबाट १६ अंक रहेको छ ।
प्रतिक्रिया दिनुहोस्