Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


ब्रिटेनमा आमनिर्वाचन गराउने प्रधानमन्त्री जोनसनको प्रस्ताव सांसदहरुद्वारा अस्वीकृत


0
Shares

काठमाडौं । समयअगावै ब्रिटेनमा आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव सांसदहरूले अस्वीकृत गरेका छन् ।

हिजो हाउस अफ कमन्समा भएको मतदानमा आमनिर्वाचनको पक्षमा आवश्यक दुई तिहाइ मत ल्याउन प्रधानमन्त्री विफल भएका हुन् ।

पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो । सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो ।

प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमनिर्वाचन गराउने प्रस्ताव गरेका थिए ।

सांसदहरूले सहमति विनाको ब्रेक्जिटलाई रोक्ने विधेयक पारित गरेपछि आमनिर्वाचनका लागि प्रधानमन्त्री जोनसनले संसद्मा प्रस्ताव पेश गरेका थिए ।

यसअघि सांसदहरूले सहमति विनाको ब्रेक्जिट विलम्ब गर्ने विधेयक पारित गरेका थिए ।

हाउस अफ कमन्समा बुधवार नै सम्पन्न मतदानमा पक्षमा ३२७ मत खसेको थियो भने विपक्षमा २९९ मत खसेको थियो ।

प्रधानमन्त्री जोनसनले उक्त विधेयकलाई आत्मसमर्पण गराउने विधेयकको सङ्ज्ञा दिनुभएको छ ।

हिजो नै ब्रेक्जिट विलम्ब गर्नुपर्ने प्रस्ताव गरिएको विधेयक पहिलो मतदान प्रक्रियाबाट पारित भएको थियो ।

उक्त विधेयकको पक्षमा ३३० मत र विपक्षमा ३०० मत खसेको थियो । पूर्वनिर्धारित समयतालिका अनुसार ब्रिटेनले अक्टोबर ३१ तारिखमा युरोपेली संघ छाड्नुपर्ने छ । 

मङ्गलवार प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिले संसद्मा ठूलो पराजय बेहोरेको थियो ।

मङ्गलवारको मतदानमा सरकारको पक्षमा ३०१ सांसद र विपक्षमा ३२८ सांसद उभिएका थिए ।

प्रधानमन्त्री जोनसनले मङ्गलवार नै संसद्मा बहुमत गुमाएका थिए ।

विपक्षी नेता जेरमी कोर्बिनले सहमति विनाको ब्रेक्जिट प्रक्रिया अगाडि बढाउनका निम्ति प्रधानमन्त्री जोनसनसँग संसद्मा बहुमत र संसद्को सहमति दुवै नरहेको बताएका छन् ।

संसद्मा बोल्दै कोर्बिनले युरोपेली सङ्घसँग पुनः वार्ता गर्नका लागि प्रधानमन्त्रीसँग योजना र प्रस्ताव नरहेको दाबी गरे ।(एजेन्सी)