काठमाडौं, भदौ १८ । प्रहरी र विद्यार्थीबीच झडप हुँदा ८ विद्यार्थी नेता घाइते भएका छन् ।
पक्राउ परेका विद्यार्थीलाई भेट्न जानेक्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबअगाडि बुधबार साँझ ६ बजे झडप भएको थियो ।
झडपमा अनेरास्ववियुका संयोजक ऐन महर, नेता सुदेश पराजुली, समिक वडाल, सागर भट्ट, राजकुमार महतारासहित ८ जना घाइते भएको अनेरास्ववियुका सहसंयोजक रञ्जीत तामाङले जानकारी दिए ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायक उपरीक्षक होविन्द्र बोगटीले पक्राउ परेका विद्यार्थी नेतालाई भेट्न जाँदा झडप हुँदा उनीहरु घाइते भएको बताए ।
‘चिकित्सा शिक्षा अध्ययन संस्थानका आन्दोलनरत् विद्यार्थीलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । उहाँहरु ती विद्यार्थी नेतालाई भेट्न आउनु भएको थियो’–उनले भने–‘सोहीक्रममा विद्यार्थी र प्रहरीबीच झपड हुँदा उहाँलाई चोट लागेको हो ।’
सहसंयोजक तामाङकाअनुसार सामान्य घाइते भएका सबैको प्रदर्शनीमार्गस्थित काठमाडौं मोडेल अस्पतालमा उपचारपश्चात् घर फर्किएका छन् ।
चिकित्सा शिक्षाको सुधारको माग राख्दै विद्यार्थीले चिकित्सा अध्ययन संस्थानमा ताला लगाएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्