२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


फराकिला बनाइँदै पाल्पाका सडक, २ करोड बजेट विनियोजन


0
Shares

भरत शर्मा
पाल्पा । पाल्पाको तानसेन नगर प्रवेशका मुख्य सडकहरू फराकिलो पारिएको छ । डिभिजन सडक कार्यालय पाल्पासँग मिलेर तानसेन नगरपालिकाले सडक चौडा पार्ने काम गर्दै आएको छ । तानसेन नगरपालिकाले सिद्वार्थ राजमार्गको नयाँपाटीदेखि बर्तुङ्गसम्म र तानसेन तम्घास सडकअन्तर्गत टक्सार चोकदेखि रिब्दीकोट गाउँपालिकाको सिमाना सामाकोटसम्म सडक चौडा बनाएको छ ।

पाँच दशक अगाडि निर्माण भएको सिद्धार्थ राजमार्गमा सवारी साधनहरूको चाप र साँघुरो भएका कारण बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न स्थानीय सरकार र डिभिजन सडक कार्यालयको सहकार्यमा चौडा गर्ने अभियान थालिएको हो । तानसेनदेखि सामाकोट सिमासम्मको सिङ्गल सडकलाई डबल बनाइँदैछ भने नयाँपाटीदेखि होलाङ्दीसम्मको सडकल फराकिलो पारिँदै छ । ८ मिटरको सडक १५ मिटरको बनाउन लागिएको हो ।

तानसेन नगरपालिकाले तानसेनदेखि नयाँपाटीसम्म ९९ लाख रूपैयाँ र टक्सार चोक रिव्दीकोट गाउँपालिकाको सिमाना सामाकोटसम्म १ करोड रुपैयाँ बजेट विनियोजन गरी सडक चौडा बनाएको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठ बताउनुभयो ।

तानसेन नगरपालिकाले सडक कटान गर्ने र सडक डिभिजनले नाली तथा कालोपत्रे गर्ने गरी काम प्रारम्भ भएको हो । कालोपत्रे तथा टेवा पर्खालको जिम्मा पाएको डिभिजन सडक पाल्पाले करिब ८ करोडको ठेक्का सम्पन्न भई आगामी आर्थिक वर्षसम्म निमार्ण सम्पन्न हुने डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर रामविहारी चौधरीको भनाइ छ ।

तानसेन प्रवेश गर्ने करिब १० किलोमिटर सडक चौडा र व्यवस्थित बन्ने भएको हो । सडक बिस्तारले सवारी दुर्घटनामा कमी आउनुका साथै तानसेनको सुन्दरतामा समेत वृद्धि हुनेछ । स्थानीय सरकार गठन भएसँगै विकासको पहिलो पुर्वाधारको रूपमा लिइने सडक योजनालाई तानसेन सरकारले अगाडी बढाएसँगै स्थानीयले विकासको अनुभुति गर्न थालेका छन् ।