काठमाडौं, भदौ १८ । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नस्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधिसभाको शून्य समयमा उनले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्यबाली नस्ट गर्दा किसान मर्कामा परेको हुँदा उक्त किराकाबारेमा तत्काल खोज, अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए ।
संघीय समाजवादी फोरम नेपालका सांसद उमाशंकर अरगरियाले धनुषा जिल्लामा कमला नदी नियन्त्रण गरी सिँचाइको विकास गर्न उपभोक्ता समितिले करोडौं खर्च गरे पनि अझै जनतामा पानीको हाहाकार भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले सो क्षेत्रमा सिँचाइको अभाव भएर धेरै जमिन सुक्खा भएकाले बाँझै रहेकोसमेत बताए ।
नेकपा सांसद खेमप्रसाद लोहनीले आगामी दिनमा बनाउने सडक भू–क्षय वा बाढी पहिरोले नभत्काउने खालको बनाउनुपर्नेमा जोड दिए ।
उनले वर्षात्को समय विस्तारै सकिँदै जान लागेको हुँदा बेलैमा सजगता अपनाएर सडक बनाउन आग्रह गरे ।
नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा निर्माण गर्दा सरकारले तत्काल अस्थायी व्यवस्था गरेर निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले यही भदौ २७ गते इन्द्रजात्रा मनाउन लागेको र धरहराको बीचमा मृतकको सम्झनामा परिक्रमा गर्ने प्रचलन जानकारी गराए ।
नेकपा सांसद कृष्णप्रसाद दाहालले नेपालमा गाईलाई भीरमा खसाएर मारिएका विषयमा अध्ययन गरी सम्बन्धित दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेकपा सांसद कृष्णबहादुर राईले वाग्मती सभ्यता एकीकृत समितिले वाग्मतीलाई सोझ्याउनेक्रममा त्यहाँका बासिन्दा घरबारविहीन भएर आन्दोलनमा उत्रिरहेको हुँदा सरकारले त्यस विषयमा सम्बोधन गर्न आग्रह गरे ।
नेकपा सांसद गणेशसिंह ठगुन्नाले दार्चुला जिल्लामा महाकाली नगरपालिकाले सडक विस्तार गर्दा २० परिवार पहिरोमा परी विस्थापित भएको हुँदा पीडितलाई जतिसक्दो छिटो राहत उपलब्ध गराउनुपर्ने बताए ।
नेकपा सांसद घनश्याम खतिवडाले सहकारी क्षेत्रमा सुशासन कमजोर हुँदै गएको हुँदा वित्तीय अनुशासन पनि कमजोर हुँदै गएकाले सहकारी संस्थालाई सुशासनमा ल्याउन र गरिबी न्यूनीकरणका लागि विशेष पहल गर्न आग्रह गरे ।
नेकपा सांसद जुलीकुमारी महतोले तराई–मधेसमा जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकताबाट वञ्चित भएको हुँदा हजारौं नेपाली नागरिकताविहीन भएको हुँदा समाधानको उपाय खोज्न माग गरिन् । रासस









प्रतिक्रिया दिनुहोस्