११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


ललितानिवास जग्गा प्रकरण : थप ५८ जनालाई बयानका लागि अख्तियारले बोलायो


0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा अनियमितता प्रकरणमा थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।

जग्गा प्रकरणबारे छानबिन गरिरहेको आयोगले आज सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र उपस्थित हुन भनेको छ ।

कांग्रेस नेता एवं पूर्वमन्त्री विजयकुमार गच्छदार बाहेक बालुवाटार प्रकरणमा जोडिएका सबै राजनीतिक व्यक्तिको बयान लिएको अख्तियारले अब छुटेका र छिटफुट बाँकी रहेका व्यक्तिहरुलाई सोधपुछका लागि बोलाएको हो ।

अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ । 

कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङकी बुहारी तथा व्यवसायी मीनबहादुर गुरुङकी छोरी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा छ ।

यसमा राजनीतिक दलका नेतादेखि उद्यमी तथा व्यापारीहरू जोडिएका छन् । यसबारे केही समयदेखि अख्तियारले छानबिन गरिरहेको छ ।

यसअघि पनि उसले विभिन्न जग्गा प्रकरणमा जोडिएका व्यक्तिलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो । २०६७ सालको मन्त्रिपरिषदको निर्णयमाथि के गर्ने भन्नेवारे अख्तियारले अझै टुंगो लगाउन सकेको छैन ।