२० आश्विन २०८१, आइतबार | Mon Oct 7 2024


लुम्बिनी बौद्ध विश्वविद्यालयमा कानुन संकायको पढाइ सञ्चालन


0
Shares

-केशव भण्डारी/ईमेज

बुटवल । बौद्ध शिक्षा र दर्शनको अध्ययन अनुसन्धानको लक्ष्यसहित १४ बर्षअघि स्थापना भएको लुम्बिनी बौद्ध विश्वविद्यालयले नयाँ नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

केही समयअघि इन्जिनियरिङ पठनपाठनका लागि सम्बन्धन दिएको विश्वविद्यालयले अहिले फेरि कानुन संकायको पढाइ सञ्चालन गरेको हो ।

इन्जिनियरिङ पढाउने गरी सम्बन्धन दिएका कारण आलोचनासमेत खेपेको लुम्बिनी बौद्ध विश्वविद्यालयले कानून विषयमा समेत अध्ययन अध्यापन शुरु गरेको छ ।

रुपन्देहीमा स्नातक तहमा बिए एलएलबी विषय पढाउन विश्वविद्यालयले भर्नासमेत खुलाई सकेको छ । त्यसका लागि प्रदेश ५ सरकारले नै सहयोग गरेको छ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल प्रदेशको विश्वविद्यालय नभएको अवस्थामा विद्यार्थीको सहजताका लागि कानुन विषय पढाउनका लागि आर्थिक सहयोग गरेको बताउँछन् ।

स्कुल अफ डेभलपमेन्ट स्टडिज र एप्लाइड साइन्स संकाय थपेर विश्वविद्यालयले उद्देश्य विपरित ट्राभल्स एण्ड टुरिजम, वातावरण, विकास, वन विज्ञानलगायतका थप १० वटा विषयमा पनि पढाइ सञ्चालन गर्न लागेको छ ।

यता विश्वविद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्य भने पढाइ हुने हरेक विषयहरु विश्वविद्यालयको मूल मर्ममा रहेर सञ्चालन हुने दावी गर्छन ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी देवदहमा करिब एक सय बिगाहा जमिनमा भौतिक पूर्वाधार निर्माण गर्ने तयारी समेत थालेको छ ।

असम्बन्धित बिषयमा पढाइ थालेपछि  विश्वविद्यालय आफ्नो मूल उद्देश्यबाट विचलित हुने हो कि भन्नेतिर पनि कतिपयको आशंका छ ।