
वीरगन्ज । वीरगञ्ज प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दासलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै भागेपछि उनलाई गोली हानेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दासको दाहिने घुँडामा एक राउन्ड गोली लागेको छ । उनको नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताइको छ ।
सन्तोष दास पहिले आपराधिक क्रियाकलापमा संलग्न रहेको पत्ता लागेको छ । प्रहरीका अनुसार यसअघि एक मुद्दामा उनले करिब १० वर्ष जेल सजाय भोगेका थिए ।
प्रतिक्रिया दिनुहोस्