३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


पाकिस्तानी प्रधानमन्त्रीले भने– भारतमा मैले निकै सम्मान पाएको छु


0
Shares

इस्लामावाद, भदौ १७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा आफूले निकै सम्मान पाएको बताएका छन् । भारत र पाकिस्तानबीच कश्मीर क्षेत्रलाई लिएर बढ्दो तनावबीच पाकिस्तानी प्रधानमन्त्रीले भारतसँगको आफ्नो सम्बन्ध र अनुभव स्मरण गरेका हुन् ।

लाहोलमा सोमबार अन्तर्राष्ट्रिय शिख सम्मेलनलाई सम्बोधन गर्दै इमरानले आफ्नो क्रिकेट जीवनका क्रममा भारत भ्रमण गर्दाको स्मरणसमेत गरे । ‘जब म पहिलो पटक क्रिकेट खेल्न भारत गएँ, मैले बेग्लै अनुभूति गरेँ । त्यहाँ हामीलाई ठूलो ईज्जत गरियो, माया पायौं । यो देखेर हामी आफैं चकित भयौं, किनकि हामीले यति धेरै घृणा, डरलाग्दा कुरा भारतको बारेमा सुन्दै आएका थियौं ।’

आफूहरुले ‘दुश्मन मुलुक’ ठान्दै आएको भारतमै आफूहरुको सम्मान गरिएको र साथीहरु बनेको जिकिर गर्दै उनले भने, ‘त्यहाँ आज पनि मेरा कयौं मित्र छन् ।’

त्यसैले पनि आफू प्रधानमन्त्री भएलगत्तै भारतसँगको सम्बन्ध सुधारका लागि पहल गरेको उनले बताए । ‘पहिलो दिन नै मैले भारतलाई तपाईहरु हामीतिर एक कदम बढाउनुहुन्छ भने हामी दुई कदम अघि बढाउँछौं भनेर सन्देश दिएँ,’ उनले भने, ‘नरेन्द्र मोदीसँग फोनमा कुरा गर्दै मैले दुवै देशमा एकै खालको समस्या रहेको बताएँ । गरिबी, बेरोजगारी र जलवायु परिवर्तनको मुद्दा दुवै देशको साझा समस्या रहेको चर्चा गरेँ ।’

पाकिस्तानी प्रधानमन्त्रीले कश्मीर मुद्दालाई पनि छलफलबाट समाधान गर्न सकिनेतर्फ आफूले विश्वास राखेको स्मरण गरे । ‘कश्मीरबारे छलफलबाट समस्या समाधान गर्न सकिन्थ्यो तर भारतले सधैं शर्तमात्र राख्दै आयो,’ उनले भने ।

उनले युद्धबाट समस्या समाधान नहुने पनि प्रष्ट पारे । युद्धले एउटा मुद्दा समाधान गर्न खोज्दा अन्य कयौं मुद्दा सिर्जना हुने उनको भनाइ थियो ।

उनले कश्मीरमा कयौंदिन यता नागरिक स्वतन्त्रता खोसिएको, ८० लाख नागरिकलाई कर्फ्युको अवस्थामा राखिएको आरोप लगाए । ‘जसको मनमा मानवता छ, उसले यस्तो गर्न सक्छ ?’ उनले प्रश्न गरे, ‘कुनै पनि धर्मले यस्तो अनुमति दिन्छ ? (एजेन्सी)