
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेल तथा नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले झापाको गौरादह नगरपालिका–५ को स्कुचौन उच्च माध्यमिक विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
भारत सरकारको ३.५७ करोड रुपैंयाँ अनुदान सहयोगमा निर्मित हुई तल्ले नयाँ भवनमा २५ वटा कक्षा कोठा छन् । जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देशीय कक्षका लागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण भएको छ ।
भारत सरकारले विद्यालय भवन परियोजनासँग जोडिन पाएकोमा खुशी व्यक्त गरेको छ । साथै शिक्षाको क्षेत्रमा पूर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासको प्रशंसा समेत गरेको छ ।
कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायत नेपाल सरकार, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा साथै नेपाल–भारत साझेदारीका प्रतिनिधिहरुको उपस्थिति थियो ।
राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस स्कुलचौन उच्च माध्यमिक विद्यालय सन १९६५ मा प्राथमिक विद्यालयबाट सुरु भई सन् २००८ मा उच्च माध्यमिक विद्यालयमा स्तरोन्नती भएको हो । विद्यालयमा करिब ११ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्