कंक्रिट कमल फुलाउँदा गहनापोखरीको दुरावस्था (भिडियो) • Image Khabar Image Khabar


कंक्रिट कमल फुलाउँदा गहनापोखरीको दुरावस्था (भिडियो)


नरेन्द्र मानन्धर
२० माघ २०७७, मंगलवार १८:४०

कंक्रिट कमल फुलाउँदा गहनापोखरीको दुरावस्था (भिडियो)

नरेन्द्र मानन्धर
काठमाडौं । आज विश्व सिमसार दिवस । पानी र सिमसार जीवनको अभिन्न आधार भन्ने नारासहित मनाइएको छ । तर, नेपालमा रहेका प्राकृतिक र मानव निर्मित सिमसार लगायतका पोखरी, तलाउ कंक्रिट संरचनाको निर्माणले नासिने अवस्थामा पुगेका छन् ।

काठमाडौंका पोखरीहरूमध्ये सर्वप्राचिन गहना पोखरीमा पनि कंक्रिटको कमल फूल फुलाएर दुराअवस्थामा पु¥याइएको छ । गहना पोखरी लिच्छवीकाल अघिको पुरातात्विक महत्वको सम्पदा हो । जहाँ राजा नरेन्द्र देवले गर्व गर्न लायकको पोखरी भन्दै विदेशी पाहुनाहरुलाई समेत अवलोकन गराउँथे ।

पोखरीमा श्रीपेच देखिने र यहाँ खसेका सबै वस्तु सुन बन्ने विश्वास रहेको छ । कैलाश कुट भवनको सातौं तलाबाट पानी झार्नसमेत यो पोखरीको पानी प्रयोग भएको चिनियाँ यात्रीको यात्रा विवरणमा उल्लेख गरिएको जनाइन्छ ।

गहनापोखरी सांस्कृतिक, ऐतिहासिक, वातावरणीय र प्राविधिक दृष्टिले महत्वपूर्ण सम्पदा भएको सम्पदाविद् प्रा.डा. सुदर्शनराज तिवारीको भनाइ छ । तर, यही पोखरीमा कंक्रिटको कमल फूल फुलाएपछि दुरावस्थामा पुगेको छ । ‘गहना पोखरी निर्माण सुधार’का लागि भन्दै तत्कालिन राष्ट्रिय सभाका सदस्य रमेशनाथ पाण्डेको संरक्षकत्वमा स्थानीय त्रिशक्ति क्लब र महानगरपालिका लगायतले २०५७ सालमा कंक्रिट संरचनाबाट पुनःनिर्माण गरेपछि अहिलेको दुराअवस्थामा पुगेको हो ।

केही वर्षअघि स्थानीय क्लबले सिमेन्टको कमलको फूल सहित फाउन्टेनसमेत राखेको थियो । अहिले पोखरीमा डीप वोरिङ गरेर चारैतिरबाट पानीको फोहरा समेत निकाल्ने संरचना बनाइएको छ । पोखरीको किनारमा विद्युतीय बत्तीहरू राखिएको छ भने पिँधमा ईटा छापिएको छ ।

अभियन्ताहरू यसलाई तत्काल रोकेर सच्याउनु पर्ने पक्षमा छन् । सम्पदाविद् तिवारी कंक्रिटको संरचना हटाइ प्राकृतिक स्वरुपमा फर्काएर सांस्कृतिक रूपमा कुरूप हुनबाट जोगाउनुपर्नेमा जोड दिनुहुन्छ ।

सिमसार, पोखरी र तलाउ पानीप्रणालीलाई कंक्रिट हुनबाट जोगाउन अत्यावश्यक भइसकेको छ । नेपालमा झण्डै ५ प्रतिशत भू–भाग रहेको सिमसार क्षेत्रको व्यवस्थापन र पुनःस्थापना प्राकृतिक रूपमा नै हुन आवश्यक छ । जसले गर्दा गहना पोखरी जस्तो सांस्कृतिक र वातावरणीय कैयौं पोखरीहरू बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्